दाङ । घोराहीमा बुधबार राति २४ किलो ७ सय १० ग्राम चरेससहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता इश्वर थापाको कमाण्डमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–१३ सिर्जनशील टोलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घोराही–१३ सिर्जनशील टोलमा कोठा भाडा लिई बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–२ का ३९ वर्षीय निमबहादुर आले, नौबहिनी गाउँपालिका–२ का २१ वर्षीया देउकली बुढामगर र रोल्पाको त्रिवेणी गाउँपालिका–७ का २९ वर्षीय प्रकाश घर्तीमगर रहेका छन् ।
भान्साकोठामा प्लाष्टिकको ड्रमभित्र प्लाष्टिकका पोका बनाई राखेको अवस्थामा २४ किलो ७१० ग्राम तौल भएको लागूऔषध चरेस बरामद भएको डीएसपी ईश्वर थापाले बताए ।
उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
