दाङ । छिल्लीकोट पदयात्रा २०८२ हुने हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा रहेका पर्यटकिय एवंम् ऐतिहासिक स्थलको प्रर्वधन गर्ने उदेश्यले पदयात्रा हुन लागेको हो। पत्रकारहरु खेमराज रिजाल, जनक नेपाली, गोकर्ण पौडेल, राकेश बस्नेत, गिरीराज नेपालीको पहलमा पदयात्रा हुन लागेको हो ।
पदयात्रा यहीँ कार्तिक ७ गते बिहान ५ बजे संक्राम स्कुलबाट सुरु हुनेछ । पदयात्रामा तुलसीपुर नगरपालिका प्रमुख टीकाराम खड्का, पैदयात्री डा.किशोर क्षेत्री, स्थानीय सर्वसाधारण सबैको व्यापक सहभागिता हुने भएको छ ।
पन्ध्रौँ–सोह्रौँ शताब्दीमा शाहवंशका राजाले राज्य गरेको छिल्लीकोट पर्यटनको आकर्षणको केन्द्र बन्दै गएको छ । पन्ध्रौँ–सोह्रौँ शताब्दीमा जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि यस स्थानलाई रोजेका हुन । छिल्लीकोटमा कालिका–मालिका देवी भगवतीको मन्दिर निर्माण भएको छ ।
छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट सजिलै देख्न सकिन्छ । यसका साथै यहाँबाट दाङका फाँट देख्न सकिन्छ । रुकुम, सल्यान, रोल्पालगायत बाँके जिल्लाका केही स्थान त्यहाँबाट अवलोकन गर्न सकिन्छ ।
मन्दिर पुग्नका लागि सिँढी पनि निर्माण गरिएको स्थानीय पूर्ण पुनले जानकारी दिए । कुनै समय छिल्लीकोट राजा र खुमखानी राजा आपसमा लडेको र त्यतिबेला छिल्लीकोटे राजाले खुमखानी राजालाई प्रहार गर्ने तोप पनि ऐतिहासिक वस्तुका रूपमा हेर्न सकिन्छ । त्यहाँ छिल्लीकोटे राजा बसेको घर र बस्न प्रयोग गरेका ढुङ्गाका अवशेष पनि हेर्न सकिन्छ ।
समुद्र सतहदेखि एक हजार चार सय १० मिटर रहेको छिल्लीकोट अबस्थित छ । यहाँ कालिका, मालिका, गणेशथान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, बुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको तोप, राजाका शिलाढुङ्गा चौकी, इन्द्रचोक, टुँडिखेललगायत छन् । नेपाल एकीकरण गर्ने सिलसिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वीनारायण शाहका भाइ बहादुर शाह नायक बनी नेपाल एकीकरण गर्ने क्रममा छिल्ली राज्य गाभिएको हो ।
छिल्लीकोटबाटै मालपोत कार्यालय पनि सञ्चालनमा आएको थियो । त्यो माल अड्डा कार्यालय तत्कालीन दाङको सदरमुकाम छिल्लीकोटमा रहेको थियो । वि।सं २००६ सम्म त्यहाँ मालपोत कार्यालय रहेको प्रमाण अहिले पनि सुरक्षित रहेको स्थानीय परवीर पुनले बताए ।
