जाडोमा कतै कपडा त कतै मह वितरण

समाचार स्थानीय तह

तुलसीपुर । जाडोयाममा जेष्ठ नागरिकको स्वास्थ्यमा सहयोग पुग्ने ध्येयले कतै न्यानो कपडा त कतै मह वितरण सुरु भएको छ । स्थानीय सरकारले जेष्ठ नागरिकप्रतिको दायित्वस्वरुप विभिन्न कार्य गर्दै आएका छन् ।

बिहिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालयमा न्यानो कपडा लिन आउनुभएका ८१ वर्षीय नन्दराम रोका खुसी मुद्रामा देखिन्थे । रोकाले भने– वडाले हामीलाई सम्झियो, यो जाडोमा लगाउने ऊनकै टोपी, ऊनकै स्वीटर दियो ।

रोका मात्रै होइन वडा कार्यालयले वडाभित्र बसोबार गर्ने ८० वर्ष उमेर पुगेका ६० जना जेष्ठ नागरिकलाई ऊनको टोपी, ऊनकै स्वीटर र बर्को उपलब्ध गराएको कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले बताए । पौडलकाअनुसार वडा कार्यालयले प्रत्येक वर्ष जाडोयाममा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।

न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जेष्ठ नागरिकले समाजमा पुर्याएको सामाजिक योगदानस्वरुप सरकारले दायित्व निभाएको बताए । अध्यक्ष विश्वकर्माले जेष्ठ नागरिक जीवनका भोगाई सुन्ने सुनाउने अनुभव केन्द्र, दिवा केन्द्र र मनोरञ्जस्थल टोल टोलमा बनाउन स्थानीय सरकारलाई आग्रह गरे । उनले जेष्ठ नागरिकको सम्मान गर्न सके मात्रै देशको विकास हुन सक्ने बताए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा जेष्ठ नागरिकलाई मह वितरण सुरु गर्न थालेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गत वर्ष १९ वटै वडामा जाडोयाममा न्यानो कपडा वितरण गरिएको र यस वर्ष नयाँ कार्यक्रमस्वरुप मह वितरण गर्न थालिएको बताए । उनले ६० वर्ष उमेर पुगेका विपन्न समुदायका जेष्ठ नागरिकलाई मह वितरण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *