काठमाडौं । देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । गर्मी बढेसँगै तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । त्यसैले गर्मी थप बढ्ने पूर्वानुमान छ ।
सामान्यतया अधिकतम ४० डिग्रीभन्दा माथि तापक्रम रहन थालेपछि तातो हावा चल्ने पूर्वानुमान गरिन्छ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।
यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।
