भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

अन्तर्राष्ट्रिय अन्य समाचार

काठमाडौँ । भारतको गुजरातमा एक पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यामका अनुसार बडोदरा जिल्लामा माही नदी (महीसागर)मा बनेको पुरानो पुल बुधबार बिहान अचानक भत्किएको हो।

बडोदराका कलेक्टर अनिल धमेलियाले दुर्घटनामा नौ जनाको मृत्यु भएको र छ जना घाइतेको अस्पतालमा उपचार भइरहेको बताएका छन्। पुलको बीचको भाग भत्किएको छ। पुलको भाग भत्किँदा धेरै सवारीसाधन नदीमा खसेका छन्।

धमेलियाले भने, ‘बिहानै उद्धार कार्य शुरू गरिएको थियो। एनडीआरएफ र अन्य टोलीहरू घटनास्थलमा उपस्थित छन् र सकेसम्म चाँडो उद्धार कार्य पूरा गर्ने प्रयास भइरहेको छ। धेरैजसो शवहरू बाहिर निकालिएको छ। अहिलेसम्म नौ जनाको शव निकालिएको छ। छ जना घाइतेको उपचार भइरहेको छ।’

घटनास्थलबाट केही तस्वीरहरू बाहिर आएका छन्, जसमा पुलको भाँचिएको रेलिङ नजिकै एउटा ट्रक झुण्डिएको देखिन्छ। यसैबीच, केही सवारी साधनहरू नदीमा खसेको पनि देखिन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो पुल लगभग ४० वर्ष पुरानो थियो। यो पुलले आनन्द र बडोदरा जिल्लालाई जोड्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *