काठमाडौं। रसुवाको बाढीमा १५ जना सम्पर्कविहीन भएका छन्। गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना सम्पर्कविहीन भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
‘६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,’ उनले भने। प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए। ‘मितेरी पुल सबै लग्यो। नेपाल चीन सम्पर्क बिच्छेद भएको छ,’ उनले भने।
उनले रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ इभी गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन। त्यसको विवरण संकलन भइरहेको उनले बताए। बाढी आउँदा फसेका मानिसहरुको उद्धार भइसकेको पनि उनले बताए।
‘केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक पर्यो भने हेलिकप्टर पठाउँछौं। हेलिकप्टर तयारी अवस्थामा छ,’ प्रजिअ पौडेलले भने।
