थारु समुदायले गुरी गुरी जाँर बेच्न पाउनुपर्छ : पूर्वमुख्यमन्त्री चौधरी

ट्रेन्डिङ धर्म/संस्कृति समाचार

तुलसीपुर । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले थारु समुदायले गुरी गुरी जाँर बेच्न पाउनु पर्ने बताएका छन् । थारु कल्याणकारिणी सभा दाङ देउखर क्षेत्र नम्बर ३ र नमुना भुह्यार थान जबरपुरको संयुक्त आयोजनामा बुधबार भएको माघ महोत्सवमा उनले यस्तो बताएका हुन् ।

महोत्सवका प्रमुख अतिथिसमेत रहेका चौधरीले थारु संस्कृतिलाई बचाउन धेरै जरुरी रहेकाे भन्दै थारु समुदाय संस्कृतिमा धनी छ तर आफ्नै संस्कृति जाेगाउन नसकेकाे बताए । उनले थारु समुदायले उत्पादन गरेको जाँर रक्सीलाई ब्राण्डिङ गरी विक्रि गर्न पाउनु पर्ने बताए । जाँर, रक्सी बनाउने सिपलाई प्रयोग गरी विक्रि गरेर आयआर्जन गर्न उनले थारु समुदायलाई आग्रह गरे । थारु समुदायले बाहिरको रक्सी किनेर खानुभन्दा आफैले घरमा उत्पादन गरेर खानु पर्ने उनको भनाई थियो ।

‘मैले जाँर नखाउ भन्दैन तर बाहिरबाट किनेर खानु भएन’ उनले भने ‘थारु समुदायका व्यक्तिहरु जाँर खाने मात्र नभइ जाँरबाट रक्सी बनाएर कसरी विक्रि गर्ने ? भन्ने कुरामा अघि बढ्नुपर्छ ।’ त्यस्तै उनले घरमा उत्पादन गरेको रक्सीलाई ब्राण्डिङ गर्नका लागि आफूले प्रदेश सरकारसँग पहल गर्ने पनि बताए ।

त्यस्तै उनले थारु कलाकाहरुलाई नेपाली गीतलाई थारु गीत बनाउनु भन्दा थारु भाषाकै गीत गाउन आग्रह गरे । ‘थारु गीतमा पनि लाेक गीत छन् तर नेपाली गीतभन्दा थारु गीतलाई प्राेत्साहन गरेर संस्कृति जाेगाउन लाग्नु पर्छ’ उनले भने । अरुकाे संस्कृतिलाई सम्मान गर्ने हाे तर आफ्नाे संस्कृतिलाई बचाउन राष्ट्रिय थारु कलाकारहरुलाई आग्रह गर्नुभयाे ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख मेयर टीकाराम खड्काले थारु समुदायको माघ पर्वलाई नयाँ वर्ष, लोक पर्व, विधायकी पर्व जस्तै सांस्कृतिक परम्परालाई प्रवर्द्धन गर्ने र नीति निर्माण गर्ने पर्वरुपमा मनाउने गरिएको बताए । ‘थारु समुदायले एउटा बन्जरलाई उकासेर खेतीयोग्य जमिन बनाएकै कारण दाङलाई हामीले उर्वर भूमिको रुपमा देख्न पाएका छौं । तर थारु समुदायको संस्कृति त्यहीँ खेतीयोग्य भन्दा कम छैन’, उनले भने ‘थारु संस्कृतिलाई जगेर्ना गर्नको लागि बस्ती बस्तीबाट खुसी मनाइरहनु भएको छ ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण चौधरी, थारु कल्याणकारिणी सभा दाङ देउखरका अध्यक्ष अशोककुमार थारु, तुलसीपुर वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीलगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा मघौटा, महोत्या, झुम्रा नाँच लगायत राष्ट्रिय स्तरका कालाकारहरुले प्रस्तुति राखेका थिए । उक्त अवसरमा थारु समुदायको उत्थानका लागि अग्रसर महटवाँ, सोढेनी, गुरुवा, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

थारु कल्याणकारिणी सभा दाङ देउखर क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन चौधरी र नमुना भुह्यार थान जबरपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण चौधरी र पत्रकार सरिता चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *