इप्रका खिलतपुरले सार्वजनिक गर्यो वार्षिक कार्यप्रगति, ४५ मुद्दा कारबाहीका लागि सिफारिस

अन्य ट्रेन्डिङ समाचार

दाङ । इलाका प्रहरी कार्यालय खिलतपुरले शनिबार पत्रकार सम्मेलन गरेर वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले विगत एक वर्षमा भएका घटना तथा कार्यालयका पहलहरूको प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

कार्यालयको जिम्मेवारी क्षेत्रमा दाङको बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र तुलसीपुर–१ पर्छन् । उक्त क्षेत्रमा बालविवाह, बहुविवाह, घरेलु हिंसा, करणी, चोरी/ठगी, नदीजन्य पदार्थ तथा वन पैदावार चोरी–निकासी, लागुऔषध, आत्महत्या र बोक्सी आरोपजस्ता घटनाहरु हुने गरेको कार्यालयले जनाएको छ ।

उनका अनुसार विगत एक वर्षमा कारबाहीका लागि ४५ वटा घटनाहरु सम्बन्धित तालुक कार्यालयमा सिफारिस गरिएको छ । तीमध्ये सबैभन्दा बढी आत्महत्याका घटना भएको उनले बताए । आत्महत्यामा १८ जनाको मृत्यु भएको छ भने, पानीमा डुबेर ७ जना र सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ । यस्तै अभद्र व्यवहार ४, जवरजस्ती करणी २, सार्वजनिक शान्ति विरुद्धका कसुर २, फुटकर ज्यान २, जवरजस्ती करणी उद्योग २, बैंकिङ कसुर २, कर्तव्य ज्यान १, जुवा १, बहुविवाह १ र अवैध काठ ओसार–पसार १ गरी ४५ मुद्दा कारबाहीका लागि पठाइएको उनले बताए ।

नदीजन्य पदार्थको अवैध उत्खननमा पनि कारबाही गरिएको छ । कारबाहीका लागि बबई गाउँपालिका २२ टेक्टर पठाएर २ लाख २० हजार र शान्तिनगर गाउँपालिकाबाट ७ टेक्टर पठाइएको थियो । जसमध्ये शान्तिनगरमा ४ वटा टेक्टरलाई मात्र कारबाही गरिएको र ३ वटा टेक्टरबारे कुनै जानकारी नआएको उनको भनाइ छ । जसमा ८० हजार राजश्व संकलन भएको उनले बताए ।

यस्तै उनले केही दिनअघि एउटा मिडियाले तथ्यहीन समाचार प्रसारण गरेर आफ्नो चरित्र हत्या गरेको आरोप समेत लगाए । “खाली ट्याक्टर पक्राउ गरी कागज गरेर छाडिएको विषयलाई अतिरञ्जित बनाएर प्रस्तुत गरियो, जुन निकै दुःखद कुरा हो,” उनले भने ।

यस्तै उनले एक बर्षको अवधिमा स्थानीय तहको सहकार्यमा विभिन्न पूर्वाधार र सुरक्षा पहल गरिएको छ । बबई गाउँपालिकाको सहयोग तथा कार्यालयको विशेष पहलमा हापुरे बजारका तीन स्थानमा ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । त्यस्तै, अस्थायी प्रहरी भवन निर्माण, स्तनपान–शिशु स्याहार कक्ष, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना बोर्ड तथा नो–पार्किङ बोर्ड जडानजस्ता काम भएको विवरणमा छ ।

हाल कार्यालयमा ७६ जनाको दरबन्दी भए पनि ४७ मात्र प्रहरी कार्यरत छन् । दुई जना विदामा र दुई जना तालिममा भएकाले वास्तविक रूपमा ४३ प्रहरीमार्फत ६३ हजार २५९ जनाको सुरक्षा सुनिश्चित गर्नुपर्ने बाध्यता रहेको उनले बताए । “जनशक्ति अभावका कारण एक जना प्रहरीलाई १ हजार १५० जनाको सुरक्षा जिम्मेवारी पर्न गएको छ,” उनले भने ।

उनका अनुसार प्रहरी जनशक्ति, स्रोत–साधन र भौगोलिक विकटताकै कारण शान्ति सुरक्षामा चुनौती रहेको छ । उनले अपराध नियन्त्रणका लागि स्रोत साधन उपलब्धता, जनशक्ति व्यवस्थापन र सचेतनामूलक कार्यक्रममा स्थानीय तह र सरोकारवालाको सहकार्य अपेक्षित रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *