दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले आर्थिक बर्ष २०८१/०८२ मा गरेका विभिन्न कार्यक्रमको खर्च विवरण सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच संयुक्त राष्ट्रसंघ विश्व वातावरणीय कोष अन्तर्गत साना अनुदान कार्यक्रमबाट प्राप्त अनुदान ५३ लाख ६९ हजार ८ सय ५७ रुपैया र ३२ पैसाको खर्च विवरण सार्वजनिक गरेको हो ।
उक्त रकम जलवायु परिवर्तनको प्रभाव कम गर्न जैविक खेतीको पहल गर्दै दाङ जिल्लालाई अर्गानिक उपत्यका घोषणा कार्यक्रमका लागि उपलव्ध गराइएको थियो । दाङ उपत्यकालाई विस २०९० सम्म अर्गानिक उपत्यका बनाउनका लागि पहल गर्ने घोषणा गरिएको छ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले रासायनिक मल र अत्याधिक विषादीको प्रयोग भएको खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर गरेको बताए। साथै माटोको उर्वराशक्ति पनि कमजोर बन्दै गएको बताए ।
विषादी र रासायनिक मलको अत्यधिक प्रयोगबाट उत्पादन गरिएका खाद्यबस्तु तथा तरकारीको उपभोगलाई निरुत्साहित गर्न जिल्लाका दशवटै पालिकाहरुले केन्द्रले थालेको अर्गानिक उपत्यका अभियानलाई अनुशरण गर्नुपर्ने बताए ।
त्यस्तै शर्माले संस्थाले दाङ उपत्यकाका नागरिकलाई निरोगी, स्वस्थ राख्न र सभ्य समाज निर्माण गर्नुका साथै समाज रुपान्तरणमा निरन्तर लागिरहेकोमा धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर वडा नम्बर १८ का वडाध्यक्ष माधव वली र वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डिसीले दाङलाई अर्गानिक उपत्यकाको अभियानमा स्थानीय सरकारको सहयोग हुनुका साथै विषादी र रासायनिक मललाई विस्थापन गरी प्रांगारिक मललाई सबै क्षेत्रमा विस्तार गर्दै लैजानुपर्ने बताए।
केन्द्रका उपाध्यक्ष वालिका तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सचिव मेनका शर्माले गरेकी थिइन् ।
