काठमाडौं । नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो ।
थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउँदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको छ ।
यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् ।
त्यस्तै पूर्वकप्तान रुबिना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो ।
यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।
नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्ने छ ।
