दाङ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको राम्रीदेखि कपुरकोटको चोरखोला सडकखण्ड स्तरवृद्धि तथा कालोपत्रे गर्नका लागि आज बुधबारदेखि एक साताका लागि दैनिक ६ घन्टा बन्द गरेको छ ।
डिभिजन कार्यालय दाङ र जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गरी नियमित रुपमा सञ्चालन हुँदै आएका सवारीका कारण निर्माणको काम प्रभावित भएपछि राप्ती राजमार्ग एक साताका लागि बन्द गरेको हो ।
राप्ती राजमार्गको चोरखोलादेखि राम्रीसम्मको सडकखण्ड स्तरवृद्धि तथा कालोपत्रेको काम लगातार सवारी सञ्चालनले प्रभावित हुँदा तोकेको समयमा सम्पन्न हुन नसक्ने अवस्था सृजना भएपछि बुधबारदेखि बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि दैनिक ६ घन्टा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्रबहाहुर विष्टले बताए ।
सडक स्तरवृद्धिका क्रममा लगातार गाडी चल्दा काममा ढिलासुस्ती हुने गरेकाले निर्माण कम्पनीको आग्रहमा राप्ती राजमार्ग बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मका लागि बन्द गरिएको उनले जानकारी गराए । उनका अनुसार लगातार गाडी सञ्चालनले ४ किलोमिटर सडक खण्डमा प्रभावकारी काम हुन सकेको छैन ।
निर्माणको काम जतिसक्यो छिटो सम्पन्न गर्न यो भन्दा अघि पनि पटक पटक राप्ती राजमार्ग बन्द गरिएको उनको भनाइ छ । तोकेको समयमा काम हुन नसकेका कारण यात्रुले बाह्रै महिना विभिन्न किसिमका कष्ट उठाउँदै आएकाले छिटो छरितो काम सम्पन्न गर्न सबैको सल्लाहमा दैनिक ६ घन्टा राप्ती राजमार्ग बन्द गरिएको सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् ।
साना तथा अत्यावश्यक सवारी साधन वैकल्पिक मार्ग पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट सडक खण्ड प्रयोग गर्न र संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी पुनले आग्रह गरेकी छिन् ।
