त्रिबेणी गाउँपालिका रोल्पामा एमबिबिएस डाक्टर पठाउने सहमति

अन्य ट्रेन्डिङ समाचार स्वास्थ्य

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले छिमेकी जिल्ला रोल्पाको त्रिबेणी गाउँपालिकामा एमबिबीएस डाक्टर पठाउने भएको छ।

प्रतिष्ठानले दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने निर्णय गरी एमबिबिएसको पढाइ सुरु गर्न थालेपछि उक्त गाउँपालिकामा एमबिबिएस डाक्टर पठाउने भएको हो।गाउँपालिकाको त्रिबेणी प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताए।

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकको व्यवस्था भएसँगै स्थानीयले विशेषज्ञ सेवा पाउने आशा गरेका छन्। एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेसँगै सो प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्यूनिटी आउट रिच सेन्टरको रुपमा रहने गरी चिकित्सक व्यवस्थापन गर्न थालेको रजिस्ट्रार लम्सालले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक छैनन्। त्यसले गर्दा विरामीले सामान्य उपचारका लागि पनि दाङको घोराही आउनुपर्ने वाध्यता छ।

हाल प्रतिष्ठानमा एमडिजिपीमा चिकित्सकले स्नातकोत्तर पढिरहेका छन। तीमध्ये एक जनालाई निकट भविष्यमै त्यहाको लागि खटाउने तयारी प्रतिष्ठानले गरेको हो।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिबेणी गाउँपालिका बिच स्वास्थ्य सेवा र जनशक्ति व्यवस्थापनबारे शुक्रबार प्रतिष्ठानको कार्यालयमा सम्झौता भएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए।

प्रतिष्ठानका रजिष्ट्रार लम्साल र गाँउपालिका अध्यक्ष कर्णबहादुर बाठा मगरका बीचमा सहमति भई सम्झौता जेठ १५ गतेदेखि लागु हुने छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र गाउँपालिकाका उपाध्यक्ष लेखमणि डागिको उपस्थितिमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

यसअघि रोल्पाकै होलेरिमा प्रतिष्ठानले एमबिबिएस डाक्टर पठाई सेवा सुरु गरि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *