सागर रोका, बिजौरी । बर्खायाममा बढ्दो प्राकृतिक प्रकोप, बाढी, पहिरो, जनधन तथा मानवीय क्षति न्यूनीकरणका लागि नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुर–१९, बिजौरीद्वारा एक विशेष जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९ का जनप्रतिनिधि, विभिन्न टोलका अभिभावक, राजनीतिक दलका सदस्य तथा टोल अध्यक्षहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
यसअघि पनि विगत वर्षहरूमा रेडक्रसले बर्खायामलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरणका कार्यक्रम र सामग्री वितरण गर्दै आएकोमा, यस वर्ष पनि थप प्रभावकारी रुपमा अभियान अघि बढाएको हो।
कार्यक्रमका प्रमुख वक्ता रेडक्रस उपशाखाका अध्यक्ष बालकृष्ण रेग्मीले सबै टोलमा विपद् व्यवस्थापन समिति गठन गरिने जानकारी दिए। उनले प्राकृतिक प्रकोप, चोरी, डकैती, झैझगडा लगायतका घटनालाई टोलस्तरमै नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे।
हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज सई भरत वलीले सामुदायिक समिति बनाइँदा विपद् न्यूनीकरणका कार्यहरू सजिलो हुने भन्दै, समुदायको सक्रियताले घटनाहरूमा प्रभावकारी नियन्त्रण हुने धारणा राखे।
कार्यक्रममा उद्योग वाणिज्य संघ बिजौरीका अध्यक्ष रेश्मी राज खड्काले विपद् व्यवस्थापनका कार्यमा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विपद् व्यवस्थापन समिति पनि गठन गरिएको छ, जसको अध्यक्षता बालकृष्ण रेग्मीले गरेका छन् भने सचिव मुकेश वली रहेका छन् । अन्य सदस्यहरूमा डा. योगेश बैद्य, पत्रकार सागर रोका, माधव वली, प्रेमनाथ योगी, मस्त बहादुर थापा, रेश्मी राज खड्का, विदुर गौतम, लोक बहादुर रोका, डिल्ली डडेल, कपिल लामिछाने, ज्ञानेन्द्र पोख्रेल, शंकर आचार्य (आशिष), राम बहादुर घर्ती, आइतराम खड्का, सोमराज गौतम, पुर्ण पुन, पदम बहादुर वली, र दुर्गा बहादुर विक रहेका छन्।
कार्यक्रम संचालन रेडक्रसका सचिव मुकेश वलीले गरेका थिए ।
