तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैंडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।
उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।
मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैंडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर) पश्चात सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।
