फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. केशव श्रेष्ठ

अन्य ट्रेन्डिङ समाचार

काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठ आज बिहान फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन् । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा उल्लेख गरेका छन् ।

उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप लगाएका छन् ।

करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नु परेको बताएका छन् ।

उनका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् ।

‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे,’ ती चिकित्सकले बताएका छन् ।

उनको भनाइ अनुसार अस्पताललाई व्यवस्थित बनाउने क्रममा उनले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।

उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ ।

मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो,’ उनले बताएका छन् । उनको भनाइ अनुसार उनलाई कुनै सुनुवाइ नगरी छानबिन प्रक्रियाकै बीचमा हतारहतार सरुवा गरियो ।

‘छानबिन समितिले अनुसन्धान गरिरहेको अवस्थामा नै मलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन भनियो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो कत्तिको न्यायोचित हो ?’

उनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि अमानवीय व्यवहार गरेको गुनासो गरेका छन् । हेटौंडा पुगेपछि मन्त्रालयका एक प्रमुख प्रशासकीय अधिकृतले कुनै स्पष्टीकरण नदिई जबरजस्ती रामेछाप पठाएको उनले बताएका छन् ।

‘१६ वटा टाँका लागेको शरीर, २ वर्षकी छोरी र श्रीमती लिएर राति रामेछापबाट काठमाडौं आउन बाध्य भएँ,’ श्रेष्ठ भन्छन् ।

मानसिक तनावले गर्दा उनले आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् । ‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’

उनको खोजीकार्य प्रहरीले तीव्र रुपमा गरिरहेको छ ।

उनको फेसबुकमा लेखेको स्टाटस् :

सबै जनालाई अलविदा  

मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले।  

करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो।  

डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए।

केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै  लागेर morning conference मा प्रस्तुत भई। तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो।  

केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने। आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD  को comission को  deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही  स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो।

अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन। न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो।  

शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे। नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?

हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।

डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन।  

मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए।

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी। हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir  हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।

तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु।

नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ। यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला  यथार्थ कुरा बोलिदिनु होला। यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु।

फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *