काठमाडौं । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।
शनिबार साँझ ५ बजेदेखि लागु हुनेगरी दुवै देशले ‘युद्धविराम’मा सहमति जनाएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा भनेका छन्। उनले दुई देशबीच जमिन, आकाश र समुद्र तीनै ठाउँबाट एक अर्कालाई आक्रमण नगर्ने भन्ने सहमति भएको बताए।
भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
‘दुई जनाबीचको टेलिफोन संवादपछि दुवै पक्षबीच जमिनबाट हुने गोलाबारी, आकाशबाट हुने सैन्य कारबाही र समुद्रबाट हुने आक्रमण रोक्न तयार हुनुभएको छ,’ मिश्रीले भनेका छन्।
पाकिस्तानका विदेशमन्त्री इशाक डारले पनि तत्कालै लागू हुनेगरी भारत र पाकिस्तानबीच ‘युद्धविराम’को सहमति भएको बताएका छन्।
डारका अनुसार, यो सम्झौता पछि भारत र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय गरिएको छ।
