भारतका ३२ विमानस्थलमा नागरिक उडान बन्द

अन्तर्राष्ट्रिय अन्य ट्रेन्डिङ समाचार

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयले देशको उत्तर र पश्चिमी क्षेत्रमा रहेका ३२ वटा विमानस्थलबाट हुने सबै नागरिक उडानमा अस्थायी प्रतिबन्ध लगाएको हो ।

भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन निकायहरूलाई यसको बारे ‘नोटिस टु एयरमेन’ जारी गरिएको छ, जुन मे १५ बिहान ५:२९ बजेसम्म लागु हुनेछ ।

भारतले उच्च सुरक्षा संवेदनशीलता देखाउँदै प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मु, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किशनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पत्तनकोट, सरसावा, शिमला, श्रीनगर, थोइसे, उत्तरलाई लगायतका स्थान समावेश छन् ।

एयर इन्डियाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, उक्त निर्णयपछि जम्मु, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका सबै उडान मे १५ बिहान ५:२९ बजेसम्मका लागि स्थगित गरिएका छन् । सुरक्षालाई उच्च प्राथमिकता दिँदै प्रभावित विमानस्थलहरूमा आगन्तुकहरूको टर्मिनल भवन प्रवेशमा निषेध गरिएको छ ।

त्यस्तै, सुरक्षा प्रवर्धनका लागि एयर मार्सलहरू समेत तैनाथ गरिएको छ । विश्लेषकहरूका अनुसार भारत-पाकिस्तानबीच हालको तनावले आकाशमा अप्रत्याशित स्थिति सिर्जना गर्न सक्ने सम्भावना रहेकाले नागरिक उडानमा सावधानी अपनाइएको हो ।

सरकारले नागरिकहरूलाई अफवाहमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनाका आधारमा मात्र यात्रा योजनामा परिवर्तन गर्न सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *