काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले स्वर्गद्वारी गुठीका मोही किसानको समस्या समाधान नगरी दमनमा उत्रिएको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद शर्माले काठमाडौं आएर आन्दोलन गरेको ३२ दिन बितिसक्दा पनि सरकारले उनीहरूमाथि दमन गरेको आरोप लगाएकी हुन्।
‘आइतबार प्रहरी र आन्दोलित मोही किसानबीच झडप भयो। दुवै तर्फका घाइते भए। १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले भोलिपल्ट छाडेको थियो,’ सांसद शर्माले भनिन्। सरकारले सडकबाट किसानले उठाएको र सांसदहरूले पटकपटक संसदबाट ध्यानाकर्षण गराएको विषय पनि सरकारले नसुनेको बताइन्।
‘गुठी किसानसँग वार्ता गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याउन, जमिनमाथिको द्वेध स्वामित्व अन्त्य गरी मोही पुर्जाको हक सुनिश्चित गर्न र गुठी जग्गा रैकरमा परिवर्तन गरी किसानलाई जग्गा धनी पुर्जा जारी गर्न सरकारसँग माग गर्न चाहन्छु,’ उनले भनिन्।
सरकारले सडकमा उनीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई नजरन्दाज गरेकै कारण उनीहरू अहिले पार्टी कार्यालयहरूमा धर्ना दिन, ज्ञापन पत्र बुझाउने गरिरहेको सांसद शर्माले बताइन्।
पुस्तौंदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू सरकारलाई सुनाउन दाङबाट काठमाडौं आएका थिए।
मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
