कुलमानले शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

अन्य ट्रेन्डिङ राजनीति समाचार

काठमाडौँ । प्रतिनिधिसभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ । बुधवारको प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । त्यसपछि बोलेका पाण्डेले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोध्ने र दुःख दिनेमात्र नभएर कार्यसम्पादन मूल्याङ्कनमा समेत शून्य अङ्क दिएर के गर्न खोजेको हो भन्दै सदनमार्फत सरकारको जवाफ मागे । उनले सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह समेत गरे ।

त्यस्तै रास्वपाका प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्राधिकरणलाई फाइदामा पुर्याउने कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएको भन्दै असन्तुष्टि जनाए । त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि कुलमानलाई हटाउन लागिएकोमा विरोध गर्दै ६ महिना कार्यकाल बाँकी रहँदै हटाए सदन र सडक आन्दोलन समेत गर्न पछि नपर्ने चेतावनी दिए ।

विपक्षीको माग अनुसार सभामुख देवराज घिमिरेले विपक्षीहरूले उठाएको विषयबारे सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

‘आजको बैठकमा सबै प्रतिपक्षहरूबाट राखिएको विषय तथा माननीय सदस्यहरूले आकस्मिक, शून्य समय र विशेष समयमा उठाउनुभएका विषयमा समेत प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ प्रति सम्बन्धित माननीय मन्त्रीहरूको म गम्भीर ध्यानाकर्षण गराउँदछु । साथै उठेका विषयहरूमा सभालाई जानकारी गराउन म निर्देश गर्दछु,’ सभामुख घिमिरेले निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *