नवलपरासी । शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सडक चिप्लो भएपछि दाउन्नेमा सडक अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडकखण्डमा शितलहरका कारण बाटो चिप्लो भएपछि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । साथै बाक्लो हुस्सुले अगाडिको सवारी समेत नदेखिने अवस्था छ ।
बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्ध भएको थियो । त्यसको केही समयपछि एकतर्फी सञ्चालनमा आए पनि अहिले पुनः दुईतर्फी आवागमन अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए ।
प्रहरीले ठूला र मालवाहक सवारीलाई पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ । यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्ध हुने गरेको थियो ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा परेका छन् । सडक चिप्लिएका कारण दुर्घटनाको जोखिम रहेको छ ।
