तुलसीपुर । तुलसीपुरमा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१२, स्थित मंगलम बालुवा प्रशोधन उद्योगको परिसरमा करेन्ट लागेर मृत्यु भएको हाे ।
करेन्ट लागेर मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–१ का २१ वर्षीय सबिन घर्ती रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।
रा १ ख १५६६ नम्बरका टिपरका सहचालक घर्तीलाई बिहीबार दिउँसो ३ बजेतिर टिपरको ढालामा केही सामान छकी भनी हेर्न जाँदा क्रसर उद्योगमा लागेको विद्युत तारलाई छुन पुग्दा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका घर्तीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएलगत्तै चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि टिप्परका साहु तुलसीपुर–१९ निवासी २९ वर्षीय गणेश घर्तीमगर र टिप्पर चालक तुलसीपुर–१६, मानपुर निवासी ४० वर्षीय श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
शव पोष्टमर्टनका लागि अस्पतालको शव गृहमा राखिएको छ।
