काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेर विक्रि गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ ।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् । शव जलाउने काम गर्ने ती ब्राम्हणविरुद्ध आफन्तले प्रहरीमा निवेदन दिएपछि नियन्त्रणमा लिइएको हो ।
घटनाबारे अनुसन्धान सुरु भएको छ । आफन्तले मासु र हड्डी बेच्ने गरेको आरोप लगाए पनि किन्ने को हो, कतिमा बेचे भन्ने केही नखुलेको प्रहरीको भनाइ छ ।
