तुलसीपुर । तुलसीपुरमा एक महिने नेपाली सांकेतिक भाषा तालिम सुरु भएको छ । राप्ती बहिरा संघ दाङको आयोजना तथा तुलसीपुुर उपमहानगरपालिकाको सहयोगमा तालिम शुक्रबारदेखि सुरु भएको हो ।
राप्ती बहिरा संघका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खड्काले संसारका जुनसुकै भाषा सिक्नका लागि सांकेतिक भाषा आवश्यक रहेको बताए । सांकेतिक भाषाले सबै चिजको प्रस्तुतीकरण, ज्ञान आर्जन गर्न महात्वपूर्ण भूमिका खेल्ने उनले बताए । ‘सांकेतिक भाषा प्रयोग गर्ने समुदायले यो भाषा बिना एक कदम पनि अघि बढ्न सक्दैन तसर्थ त्यो समुदायका लागि सांकेतिक भाषा अनिवार्य छ ।’ मेयर खड्काले भने ।
उनले तुलसीपुर उपमहानगरपालिकासँग सांकेतिक भाषालाई साझेदारी भाषाका रुपमा विकास गर्नका निम्ति तालिम अर्थपूर्ण रहेको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले बहिरा अपांगता व्यक्तिहरुले हरेक ठाउँमा सहज सेवा पाउनका लागि सांकेतिक भाषाको आवश्यता रहेको बताए । विभिन्न कार्यालय, संघसंस्थाका कार्मचारीहरु पनि सांकेतिक भाषा सिक्न जरुरी रहेको उनले बताए ।
त्यस्तै राप्ती बहिरा संघ दाङकी निर्देशक प्रतिमा शर्माले तालिमबारे जानकारी दिंदै बहिरा अपाङ्गता मान्छेलाई हेर्दा राम्रो सुन्दर देखिएतापनि सञ्चारको समस्याका कारण सबैभन्दा पछि परेको वर्ग रहेको बताइन् ।
उनका अनुसार शिक्षा, स्वास्थ्य तथा विभिन्न सरकारी कार्यालयहरूमा बहिरा अपांगता भएको व्यक्तिहरुले सेवा लिन कठिन भएकाले तुलसीपुर उपमहानगरपालिकाका विभिन्न शाखा, प्रादेशिक अस्पताल, प्रहरी प्रशासन, जिल्ला प्रशासन, पत्रकार लगायतका क्षेत्रबाट सांकेतिक भाषा तालिममा सहभागिता रहने छ । जसले सांकेतिक भाषा प्रयोगकर्ताले सहजै आफ्नो कुरा भन्न वा बुझ्न सहज हुने उनले बताइन् । हाल संघका एक सय ३० बढी बहिरा बालवालिकाहरु रहेका छन् ।
बहिरा व्यक्तिहरु सांकेतिक भाषामा निर्भर हुने र समाजमा सांकेतिक भाषाको सामान्य बुझाइ नहुनाले उनीहरु सहज रुपमा आफ्नो कुरा भन्न वा बुझ्न नसक्ने समस्या रहेको उनको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन बसन्ती ले गरेकी थिइन् । तालिक हरेक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म दुई घण्टाको हुने आयोजकले जनाएको छ ।
