हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्छ : प्रचण्ड

अन्य ट्रेन्डिङ समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको भविष्य पछाडि फर्केर नभई अगाडि बढेर मात्रै उज्वल हुने बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा सोमबार शुभकामना दिँदै उनले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गरेका हुन् ।

‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौं, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौं, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ’, प्रचण्डले भनेका छन् ।

उनले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत् रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नववर्षमा नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिनुपर्ने बताएका छन् ।

२०८२ साल नयाँ चुनौती र अवसर लिएर आएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको पूर्ण कार्यान्वनमार्फत् जनअपेक्षा पूरा गर्नेतर्फ ध्यान दिन सबैको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *