तुलसीपुरमा लागूऔषध दुर्व्यसनी न्यूनीकरण र नैतिक शिक्षा सम्बन्धी तालिम सुरू

अन्य समाचार समाज

दाङ । तुलसीपुरमा लागूऔषध दुर्व्यसनी न्यूनीकरण र नैतिक शिक्षा सम्बन्धी तालिम सुरु भएको छ। तुलसी सामाजिक विकास केन्द्रको आयोजना र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा दुई दिने तालिम आजदेखि सुरु भएको छ ।

केन्द्रका अध्यक्ष ओदबहादुर भण्डारी (गणेश)को अध्यक्षता तथा तुलसीपुर वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात)को प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भण्डारीले लागुपदार्थको लतमा फस्दा मस्तिष्क तथा शारीरिक विकासमा समस्या आउने बताउँदै यस्ता विकृति निरुत्साहित गर्न वडा कार्यालयले सचेतनामूलक कार्यक्रम आयोजना गरेको बताए । बालबालिकाको भविष्यलाई प्रभावित गर्ने क्यान्सरका रूपमा रहेको लागुपदार्थको प्रयोगले युवाहरूमा समस्या बढ्दै गएको र उनीहरूलाई सही बाटोमा डोर्याउन अभिभावकको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

उक्त कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य यमुना परियारले लागुपदार्थ दुर्व्यसनको समस्या बढ्दै जानुमा परिवारको पनि उत्तिकै जिम्मेवारी रहेको धारणा राखिन् । त्यस्तै वडा सदस्य तथा न्यायिक समिति सदस्य देवी पोखरेलले निर्वाचनको समयमा लागू औषध दुर्व्यसन न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेअनुसार कार्यक्रम गरिएको जानकारी दिइन्।

समाज परिवर्तन र समाजलाई सही मार्ग निर्देशन दिने उद्देश्यले तालिमको आयोजना गरिएको वडा सचिव मित्रलाल विकले जानकारी दिए। युवायुवती र नैतिक शिक्षाको अभावमा कुलतमा फसेका युवाहरूलाई सही मार्ग प्रदान गर्न तालिम सञ्चालन गरिएको उनले बताए ।

चैत १२ र १३ गते सञ्चालन हुने तालिमकको प्रमुख प्रशिक्षक पत्रकार सुशील बस्नेत रहेका छन् । तालिममा वडा भित्रका विभिन्न टोलविकास संस्थाका पदाधिकारी, सामाजिक अगुवा र युवायुवतीसहित ४० जनाको सहभागिता रहेको छ।

केन्द्रका सचिव सागर सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सदस्य प्रेरणा परियारले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *