दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको भद्रकाली पानी उद्योगबाट उत्पादित कुबेर जलको पानीमा सेतो पदार्थ भेटिएको छ । उद्योगले बजारमा पठाएको पानीमा केही दिन अगाडि उपभोक्ताले प्रयोग गर्दा भेटिएको हो ।
आधा लिटरको पानीको बोतलमा सेतो पदार्थ भेटिएको छ । उक्त पानी २०२५ जनवरी ९ तारिकमा उत्पादन भएको रहेको छ, भने ६ महिनासम्म प्रयोग गर्न मिल्ने उल्लेख गरिएको छ । यसरी उपभोक्ताहरूले विश्वास मानेर खाने गरेको पानीमा यस्तो भेटिनुमा उद्योगको लापरबाही रहेको एक उपभोक्ताले बताए ।
‘हामीहरूले पानी उद्योगहरूले बजारमा ल्याउने पानी निकै राम्रो हुन्छ, भनेर नै किनेर खाने गरेका छौँ । तर, सिल प्याक गरेको पानीमा यस्तो भेटिनुमा उद्योगको लापरबाही नै हो ।’ उनले भने, ‘यो सेतो पदार्थ के हो ? यसले स्वास्थ्यमा कस्तो असर गर्छ, भन्ने यो नियमन गर्ने निकायले ध्यान दिन जरुरी छ ।’
यस्तै उनले उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न समेत आग्रह गरेका छन् । उनले दाङ जिल्लामा रहेको यस्तो उद्योगहरूलाई राज्यले समय समयमा चेकजाँच गर्नु पर्ने समेत बताए । ‘हामीले उद्योगले राम्रो पानी ल्याएका हुन्छन्, भनेर नै ढुक्कले खाने हो । तर, यस्तो पानी बजारमा पठाउँदा कसरी विश्वास गर्ने ?’ उनले भने ।
यता उद्योगले भने केही प्राविधिक कारण यस्तो भएको जनाएको छ । प्राविधिक कारणले गर्दा पानीमा त्यो समस्या भएको भन्दै बजारमा पठाएको पानीहरू सबै फिर्ता ल्याएको र आगामी दिनहरूमा यस्तो गल्ती नहुने समेत जनाएको छ ।
