थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौं : सभापति देउवा

ट्रेन्डिङ धर्म/संस्कृति समाचार

चखौरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रबर्द्धन गर्नुपर्ने बताएका छन् । अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् महटवाँ बरघर भलमन्सा अधिवेशनको शनिबार दाङमा उद्घाटन गर्दै देउवाले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भए पनि त्यसको बजारीकरण र प्रबर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।

सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गर्दै दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रहसमेत गरे ।

महटवाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने धारणा राखे । चौधरीले भने, ‘लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।’ उनले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे ।

मटहवाँ संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेका केन्द्रीय सदस्य बालकृष्ण खाँड, दीपक गिरी, गेहेन्द्र गिरी, प्रदेश सभापति अमरसिंह पुनलगायतले सम्बोधन गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पश्चिम नवलपरासिदेखि कञ्चनपुरसम्मका थारु बडघर, मटहवाँको सहभागिता रहेको छ । यस अवसरमा एक सय ४० समूहका विविध संस्कृति र परम्परा झल्कने प्रस्तुति रहने छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *