काठमाडौं । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित आफ्नै निवासबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ।
युनलाई पक्राउ गर्न सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरू बुधबार बिहान उनको निवासमा पुगेका थिए। उनी दोस्रो पटकको प्रयत्नपछि पक्राउ परेका हुन्। यसअघि, पुस १९ गते युनलाई पक्राउ दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा प्रयास गरेका थिए । त्यतिबेला ठूलो संख्यामा युनका समर्थकहरूले र युनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अवरोध गरेपछि अनुसन्धानकर्ताहरू रित्तो हात फर्किएका थिए।
दक्षिण कोरियाको अखबार योनहाप न्युजले युन स्थानीय समयअनुसार बिहान साढे १० बजे पक्राउ परेको पुष्टी गरेको छ। बुधबार उनलाई पक्राउ गर्न गएका सुरक्षाकर्मीसहितका अधिकारीहरूलाई युनका समर्थकहरूले रोक्ने प्रयन्त गरेका थिए।
सैनिक कानुन लागू गर्ने प्रयास संसदले विफल पारेपछि युन निलम्बित छन्। सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो। महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ।
उनीविरूद्ध उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्न बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले पश्चिमी सउल जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। सोधपुछका लागि पटकपटक बोलाउँदा युन उपस्थित नभएपछि उनीविरूद्ध पक्राउ पुर्जी नै जारी भएको हो। दक्षिण कोरियामा राष्ट्रपति पक्राउ परेको यो पहिलो घटना हो।
