आज र भोलि वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ समाचार समाज

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । तराईमा शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।

तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।

सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

भोलि मंगलबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *