शिक्षण सिकाइ क्रियाकलापलाई नयाँ युगअनुसार बदल्न जरुरी छ : मुख्यमन्त्री आचार्य

ट्रेन्डिङ राजनीति समाचार

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताएका छन् । लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा आयोजना गरेको तेस्रो टिचिङ्ग लर्निङ्ग एक्स्पो २०८१ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आधारभुत तहबाटै विद्यार्थीहरुलाई खोज अनुसन्धानको माध्यमबाट शिक्षण सिकाई गर्नेगरी भूमिका बढाउन जरुरी रहेको बताएका हुन् ।

‘अध्ययन, अनुसन्धान अव नयाँ युग अनुसार चल्न र चलाउन जरुरी छ । सिपयुक्त जनशक्तिले स्वरोजगार र उद्यमशिलता बढाउछ’ उनले भने, ‘युगले खोजेको जनशक्ति अव दक्ष र सिपयुक्त हो । त्यहीअनुसार शिक्षण प्रणालीको विकास गर्न जरुरी छ ।’ दक्ष, आत्मनिर्भर र सिपयुक्त जनशक्ति उत्पादन तीन तहकै सरकारको प्राथमिकतामा रहेको बताउदै विद्यार्थीहरुको क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर विद्यालयहरुले शिक्षण सिकाई गर्न जरुरी रहेको धारणा राखे ।

‘परम्परागत शिक्षण विधि, परम्परागत कक्षाकोठा होइन, अब प्रविधिले दिएको सुविधालाई उपयोग गरेर सिक्ने र सिकाउने काम अघि बढाउन जरुरी छ’ उनले भने, ‘बदलिदो समय र मागको आधारमा सिकाई गर्ने पद्धति पनि बदलिनुपर्छ ।’ प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर नीति निर्माण गरेको जानकारी दिदै उनले शैक्षिक गुणस्तर बढाउने बिषय सबैको साझा भएको बताए ।

विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले विद्यार्थीको रुचीको आधारमा अध्ययन, अनुसन्धानको काममा संलग्न गराउनुपर्नेमा जोड दिए । विद्यालयले टिचिङ्ग लर्निङ्ग एक्स्पो मार्फत विद्यार्थीले तयार पारेका विज्ञान तथा प्रविधिसँग जोडिएका सामग्री सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री आचार्यले विद्यार्थीहरुको मेहनतको उच्च प्रशंसा गर्दै निरन्तरताको कामना गरे । विद्यालयले बालबालिकालाई सशक्त बनाउन उनिहरुको शैक्षिक क्षमता र सामाजिक जिम्मेवारी भावनाको विकास गर्ने गरी अध्यापन गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *