एयर इन्डियाको जहाज दुर्घटनामा २४१ जनाको मृत्यु, एक जना बाँचे

अन्तर्राष्ट्रिय अन्य ट्रेन्डिङ समाचार समाज

काठमाडौं । भारतको अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ । एयर इण्डियाले सोसल मिडिया एक्समार्फत् यसबारे जानकारी दिएको हो ।

घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।

विहीबार दिउँसो भारतीय समय अनुसार २ बजेर ३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।

टाटा कम्पनीको स्वामित्वको सो विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । एक जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक हुन् ।

घटनास्थलको अवलोकन गरेका गृहमन्त्री अमित शाहले पत्रकारहरुसँग भनेका छन्, ‘सवा लाख लिटर इन्धन भएकाले आगो यति भयानक थियो कि एक यात्री बाहेक अरु सबैको मृत्यु भएको छ र लगभग सबैको शव संकलनको काम सकिएको छ ।’ उनले शवहरुको डीएनए टेस्ट गरेर मृतक संख्याको आधिकारिक घोषणा गरिने बताएका छन् ।

यो दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको पनि मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसैबीच टाटा कम्पनीले विमान दुर्घटनामा मृत्यु भएका सबै यात्रुका परिवारलाई जनही एक करोडको दरले क्षतिपूर्ति दिने र घाइतेहरुको निःशुल्क उपचार गरिदिने जनाएको छ । विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने घोषणा पनि टाटाले गरेको छ ।

विमान दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेतादेखि अमेरिकी, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, मालदिभ्स, नेपाल लगायतका देशका सरकारसम्मले शोक व्यक्त गरेका छन् ।

जहाज खसेको होस्टलका १९ जनाको मृत्यु

जहाज उडेर उचाइ लिन नसक्दा मेघनीनगरको एउटा आवासीय भवनको छतमा खसेको थियो। उडेको ३३ सेकेन्डमै जहाज दुर्घटना भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

जहाज खसेको आवासीय भवन बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टल हो। जहाज खसेपछि आगोलागी हुँदा उक्त होस्टल पनि जलेर नष्ट भएको थियो। त्यहाँ कम्तिमा १९ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। ५० जना भन्दा बढी घाइते भएका छन्।

शव संकलन गरी अहमदाबादको सरकारी अस्पतालमा लगिएको छ। धेरै शवहरू पहिचान गर्न नसक्ने अवस्थामा छन्। ती शवको डिएनए परीक्षण गरेर पहिचान गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *