जसपाले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

राजनीति समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय संसद्का दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।

बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।

‘भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा मुलुकको हितमा छैन । त्यसले राष्ट्रलाई ठूलो क्षति पुर्‍याउँछ भन्ने ठहर गर्दै त्यसलाई स्वीकार गर्न सकिँदैन भन्ने बैठकले निर्णय गर्‍यो । यो भूमाफियाहरूको पक्षमा आएको छ । वास्तविक सुकुम्बासीलाई भन्दा बिचौलियाहरूलाई पोस्ने किसिमले ल्याइएको भन्ने जसपाको निर्णय छ’ उपाध्यक्ष यादवले भने ।

यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *