काठमाडौं। अमेरिकाको वासिङ्टनमा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म ५० जनाको शव फेला परेको छ भने १७ जना अझै वेपत्ता छन् । अमेरिकी सञ्चारमाध्यमहरूले पोटोम्याक नदीबाट ४० जनाको शव निकालिएको जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी भइरहेको छ।
बुधबार राति स्थानीय समयअनुसार ९ बजे भएको दुर्घटनामा जहाज र हेलिकप्टर दुवैमा सवार मानिसहरूमध्ये कोही पनि जिवित नरहेको भनिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनामा कोही जिवित नरहेको बिहीबार पत्रकारहरूसँग बताएका छन्।
वासिङ्टनस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको विचिटाबाट आएको अमेरिकन एयरलाइन्सको जहाज सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो। आकाशमै ठोक्किएका जहाज र सेनाको ब्ल्याक हक हेलिकप्टर आगोको लप्टोसहित पोटोम्याक नदीमा खसेको थियो।
जहाजमा चालकदलका ४ सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीन जना सैनिक सवार थिए। उनीहरू सबैको मृत्यु भएको भनिएपनि सबैको शव फेला परेको छैन।

 
	 
						 
						