अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्रकाे शालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका-६ नरपानीमा मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति पार्क निर्माण गरि शालिक निर्माण गरेकाे छ ।
मुख्यमन्त्री आचार्यले सहिदकाे शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएकाे बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेकाे बताए। `मुलुककाे विकास र समृद्धिका लागि सहिदहरुले देखेका सपना पुरा गर्न सरकार प्रतिबद्ध छ´ मुख्यमन्त्री आचार्यले भने -`सहिद पार्क निर्माण गरेर सहिदहरुकाे याेगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयाेग पुगेकाे छ । समाज र राष्ट्रले सधैं सम्झिरहने छ ।´ सहिदहरुप्रति सच्चा सम्मान र देशभक्तिकाे भावना जागृत गराउन सरकारले भूमिका बढाएकाे बताए ।
सहिद पार्क र सालिक निर्माणबाट सहिदकाे याेगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताएका हुन्। लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनकाे काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेकाे बताए । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा याेगदान पुगेकाे बताए ।
प्रदेशमा चार हजार ७८ कर्मचारीकाे दरबन्दी मध्ये एक हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लाेकसेवा आयाेगले आफ्नाे काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिकाे अभाव नहुने बताए । `पदपूर्ति र बढुवाकाे काम अघि बढेकाे छ । जनशक्तिकाे समस्या समाधान गर्न सरकार सफल हुँदैछ´ उनले भने – `उपसचिव देखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउछाैं ।´ साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक बर्षमा प्रदेशबाट बिनियाेजन भएका बजेट तथा कार्यक्रमकाे कार्यान्वयन र अनुगमनलाइ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे ।
निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीका साथै राजनीतिककर्मी, सामाजिक अभियानकर्मी, जनप्रतिनिधि लगायतकाे उपस्थिति थियाे ।
