काठमाडौं । जय ट्रफी मेन्स एलिट कपका लागि नेपाल पुलिस क्लबको १५ सदस्यीय टोली घोषणा भएको छ । एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् ।
पुलिसका नियमित कप्तान दीपेन्द्रसिंह ऐरी युएईमा हुने अन्तर्राष्ट्रिय लिग टि ट्वान्टी (आईएल टि ट्वान्टी) मा सहभागी हुन गएकाले पुलिसले आरिफलाई कप्तानीको जिम्मेवारी दिएको हो ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।
पुलिसको पहिलो खेल उद्घाटनकै दिन त्रिभुवन आर्मी क्लबसँग रहेको छ । दोस्रो खेलमा मधेश प्रदेशसँग खेल्ने पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशको सामना गर्ने छ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
नेपाल पुलिसको टोलीमा आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला रहेका छन् ।
पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । यस्तै चित्र बहादुर विष्ट व्यवस्थापक तथा सहायक प्रशिक्षक र विजय कुमार धिताल एनालिस्टको भूमिकामा छन् ।
