तुलसीपुर। लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डिल्ली बहादुर चौधरीले सामुदायिक विद्यालयले अन्तर्राष्ट्रियरुपमा चिनाउने गरी विद्यार्थी उत्पादन गर्नुपर्ने बताएका छन्। माध्यमिक विद्यालय दोघरेको ५० औँ बार्षिकोत्सव (स्वर्ण महोत्सव) समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सामुदायिक विद्यालयहरुको आफ्नै मूल्य मान्यताहरु रहेको बताउँदै मुख्यमन्त्री चौधरीले सामुदायिक विद्यालय निस्वार्थ शिक्षा उत्पादन गर्ने संस्था भएको बताए । अहिले शिक्षा क्षेत्रमा छुट्टाछुट्टै स्तरको शिक्षा लिने प्रवृत्ति भएकाले धनीका छोराछोरीले र गरिबका छोराछोरीले पढ्ने विद्यालयनै फरकफरक रहेको उनको भनाइ छ ।
“सामुदायिक विद्यालय गरिब विद्यार्थीहरुले पढ्ने विद्यालय भनेर चिनिरहेका छन् यस्ता खालका समस्याहरुलाई हटाउन चुनौती पुर्ण रहेको छ” उनले भने “सामुदायिक विद्यालयले विभित्र किसिमका कला भएका विद्यार्थीहरु उत्पादन गर्न जरुरी रहेको छ ।” उनले सबै अभिभावकहरुको मनमा शिक्षाप्रति सकारात्मक सोच हुन आवश्यक रहेको बताए ।
उक्त अवसरमा कार्यक्रमका विशिष्ट अतिथि एवं पुर्वराष्ट्रिय सभा सदस्य कोमल वलीले सम्पूर्ण विद्यार्थीहरुलाई अभिभावकहरुले हरदम साथ सहयोग तथा विशेष ख्याल गरेर पढाइप्रति उत्प्रेरित गराउन शिक्षकहरुलाई आग्रह गरिन् । विद्यार्थी जुन विषयमा सक्षम छन सोही बिषयलाई आधारित गराएर अगाडि बढ्न उनले आग्रह गरिन् । शिक्षालाई पहिलो प्राथमिकतामा राखेमा मात्र समाज परिवर्तन गर्न सकिने उनले बताइन्।
विद्यायलयको प्रगति प्रतिवेदन प्रधानाध्यापक सरिता यादवले प्रस्तुत गरेकी थिइन । सहायक प्रधानाध्यापक घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मेघराज पोख्रेलले गरेका थिए।
