तुलसीपुर । आउँदो माघ १५ गतेदेखि सुरु हुने तुलसीपुर नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तीव्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर मावि उरहरीको संयोजनमा उरहरी खेल मैदानमा संचालन हुने भएको छ ।
प्रतियोगितालाई सार्थक र परिणाममुखी बनाउन यतिबेला आर्थिक ब्यवस्थापन, प्रचारप्रसार, खेलमैदान मर्मत, आवास तथा भोजन, सुरक्षा, आतिथ्य सत्कार, झाँकी जुलुस, सांस्कृतिक कार्यक्रम, स्काउट तथा जुरेस, मार्चपासलगायतका सबै प्रकारका तयारीलाई तिव्र पारिएको प्रतियोगिता मुल आयोजक समितिका सदस्य सचिव तथा अमर मावि उरहरीका प्रधानाध्यापक पदम बहादुर वलीले जानकारी दिए ।
तुलसीपुर नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगितालाई कसरी भब्य एवं सभ्य तवरले ऎतिहासिक बनाउन सकिन्छ भन्ने उदेश्यले संयोजनको जिम्मा पाएको अमर माद्यामिक बिद्यालयले बृहत भेलामार्फत मुल आयोजक समितिको मातहतमा रहने गरि विभिन्न उपसमिति गठन गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा विभिन्न टोल विकास संस्था, स्थानीय सुरक्षा निकाय, संघसंस्था तथा बुद्धिजीवीहरुको सहभागी भेलाले आफ्नो तयारी स्वरुप विभिन्न उपसमितिहरु गठन गरेको प्रधानाध्यापक वलीले बताए ।
भेलाले मान बहादुर रावतको संयोजकत्वमा सुरक्षा ब्यवस्थापन, शिक्षक देव बहादुर वलीको संयोजकत्वमा मञ्च ब्यवस्थापन, डम्बर भण्डारीको संयोजकत्वमा खेलकुद सञ्चालन, निर्मल कुमार वलीको संयोजकत्वमा स्वंयमसेवक परिचालन, रीता चौधरीको संयोजकत्वमा सांस्कृतिक, यज्ञ बहादुर अधिकारीको संयोजकत्वमा प्रमाण पत्र ब्यवस्थापन, शुष्मा भण्डारीको संयोजकत्वमा स्काउट तथा जुरेस ब्यवस्थापन, देव नारायण भण्डारीको संयोजकत्वमा आवास व्यवस्थापन, जागेश्वर भन्डारीको संयोजकत्वामा चुट्का भजन, चुर्ण बहादुर रावतको संयोजकत्वमा आर्थिक संकलन समिति र टिकाराम न्यौपानेको संयोजकत्वमा भोजन ब्यवस्थापन उपसमिति गठन गरिएको हो ।
भेलामा बोल्दै प्रमुख अतिथि रावतले यस बर्षको रनिङ शिल्ड ऎतिहासिक हुने बताए । उनले अमर माबि उरहरीले रनिङ शिल्ड संचालन गर्ने जिम्मा पाउनु सिङ्गो वडा न ११ को सान र गौरव भएकाले प्रतियोगितालाई भब्य एवं सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । साथै खेलाडी, अतिथीलाई खाना र आवाससहित साँझ सांस्कृतिक कार्यक्रमको ब्यवस्था यस बर्षको रनिङ शिल्डमा आयोजना गरिएको उनले बताए ।
भेलामा नेपाली कांग्रेसका हेम बहादुर वली, नेकपा एमालेका सोमिलाल चौधरी, माओवादीका गजाधर चौधरी, रास्वपाका पवित्रा केसी, बिद्यालय ब्यवस्थापन समितिका पुर्वअध्यक्ष लोकजङ शाह, स्वास्थ्य चौकी बेलटाकुराका चित्र बहादुर वली, खेलकुद पत्रकार लक्ष्मण बस्नेतलगायतले बोलेका थिए । भेलाको सहजीकरण शिक्षक यज्ञ बहादुर अधिकारीले गरेका थिए ।
