बरुवागाउँ भुह्याँर थान उद्घाटन

अन्य ट्रेन्डिङ धर्म/संस्कृति समाचार समाज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुवागाउँ भुह्याँर थानको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच भुह्याँर थानको उद्घाटन गरिएको हो । भूह्याँर थानको प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिला लेख खोलेर उद्घाटन गरेका हुन् ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिल्लीबहादुर चौधरीले भुह्याँर थानको ऐतिहासिक र सांस्कृतिक महत्वका बारेमा प्रकाश पारेका थिए । “भुह्याँर थान पुजा गर्ने पवित्र स्थान हो, जुन पहिलेको समयदेखि पुर्खाहरुले पूजा गर्दै आएका थिए । अहिले थारु अगुवाहरुको जागरुकताका कारण यसको फेरी पुनःस्थापना र संरक्षणमा हामी जुटेका छौं ।” उनले भने “भुह्याँर थान केवल थारु समुदायको मात्र नभई त्यस गाउँमा बसोबास गर्ने सबै जातजातिका लागि एक पवित्र स्थल हो ।”


पूर्वमुख्यमन्त्री चौधरीले विवाह, पुजा जस्ता शुभकार्य गर्नका लागि सबैभन्दा पहिले भुह्याँर थानमा पुजा गरेपछि मात्र अन्य पुजा गर्न मिल्ने चलन पुर्खादेखि नै चलिआएको बताए । उनले दाङ जिल्लामा ४ सय भन्दा बढी भुह्याँर थान निर्माण भइसकेको र अझै १०० भन्दा बढी ठाउँमा निर्माण गर्न बाँकी रहेको बताउँदै केही ठाउँमा निर्माण भइरहेको जानकारी दिए । साथै उहाँले भह्याँर थान निर्माण भएका गाउँहरुमा दशैमा सखिया नाँच नाच्नु पर्ने बताए । “पहिले दसैँको बेला गाउँ गाउँमा सखिया नाँच हुन्थ्यो ।” उनले भने “पछिल्लो समय त्यो हराउँदै गएको छ, भूह्याँर थान बनाएको गाउँमा सखिया नाँच पनि सुरु गर्नुस् ।”

कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले थारु समुदायको सांस्कृतिक र धार्मिक पहिचानको महत्व दर्शाउँदै, “थारु समुदाय अहिले विभिन्न पेशा व्यवसायमा आबद्ध भएपछि आत्मनिर्भर बन्दै समाज निर्माणमा सक्रिय भूमिका खेल्दै आउनु भएको छ ।” उनले थपे “थारु समुदायको नाच हेर्ने, दसैं, माघ पर्वसँगै मनाउन पाउँदा मनमा एक किसिमको आकर्षण हुने गर्छ । तसर्थ थारु समुदायको संस्कृतिमा अदभुत कला छ ।”

लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष नहकुल केसी, नमुना भुइह्याँर थानका अध्यक्ष एवं अधिवक्ता रामशरण चौधरी, महटवा महासंघ तुलसीपुरका अध्यक्ष बुझौना थारु, नेपाल थारु संघका केन्द्रीय सदस्य गणेश चौधरी, थारु अगुवा छोटीलाल थारु, तरुणदल तुलसीपुर नगर अध्यक्ष कमल घर्ती, बरुवागाउँ टोल विकास संस्थाका अध्यक्ष नेत्र वलीलगायतका अतिथिहरूले भुह्याँर थानको संरक्षण र निरन्तरताका लागि समुदायको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।

भुह्याँर थान निर्माणमा करिब साढे आठ लाख लागत लागेको समितिका सचिव नारायण चौधरीले जानकारी दिए । उनकाअनुसार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेबाट ७ लाख बजेट र अन्य सहयोग जुटाएर निर्माण कार्य सम्पन्न भएको हो । भुह्याँर थानको भवन बने पनि सभाहल, शौचालय र खानेपानीजस्ता अत्यावश्यक संरचना निर्माण गर्न बाँकी रहेको उनले बताए । उक्त भुह्याँर थानमा काठमा विभिन्न देवताहरुको आकृति कुदिएको मुर्तिहरु राखिएको हुन्छ ।

उक्त अवसरमा भुह्याँर थान निर्माणका लागि भनेर आफुले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताको केही रकम सहयोग गर्ने दाता कुन्ति चौधरीलाई सम्मान गरिएको थियो । भुह्याँर थान उपभोक्ता समितिका अध्यक्ष सन्तोष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत समितिका सदस्य गंगाबहादुर चौधरीले गरेका थिए भने सहजीकरण सचिव नारायण चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *