श्रीराम दहित, बिजौरी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित लिटिल फ्लावर माध्यमिक विद्यालयमा पञ्च कुण्डीय गायत्री महायज्ञ भएको छ।
गायत्री परिवार दाङ्गको आयोजन तथा लिटिल फ्लावरको व्यवस्थापनमा, शिक्षक तथा बिद्यार्थीहरुमा सकारात्मकता जागृत र स्मरण शक्तिको वृद्धि गर्ने उद्देश्यले एक दिवसीय पञ्च कुण्डीय गायत्री महायज्ञ सम्पन्न भएको हो।
किशोर अवस्थाका बालबालिकाहरुमा सकारात्मक सोंच तथा स्मरण शक्ति वृद्धि गराउने उद्देश्यले गायत्री परिवार दाङ्गको अभियानमा सहकार्य गर्न गायत्री महायज्ञ गरिएको विद्यालयका प्रधानाध्यापक विश्वमणी देवकोटाले बताए । विद्यालयका लेखा प्रमुख रेखा शर्माका अनुसार २०५५ सालमा स्थापित यस विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्म ८५० जना विद्यार्थी अध्यनरत छन् ।
मानव जीवन सार्थकता बनाउन शिक्षा र बिद्या अपरिहार्य
रहेको बताउँदै गायत्री परिवार दाङ्गका अध्यक्ष यज्ञ बहादुर बस्नेतले शिक्षा, स्वास्थ, योग, ध्यान, वातावरण संरक्षण, स्वरोजगार, नारी जागरण तथा दुर्व्यसन मुक्त समाज अभियानमा सहकार्य गर्ने सम्पुर्णलाई धन्यवाद दिए ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा आवासीय विद्यार्थीहरुले सामुहिक आत्मपरिस्कारका लागि संकल्प तथा स्वस्तिवाचन गर्दै १२५ जनाले गायत्री मन्त्राहुती गरेको विद्यालय परिसरमा पञ्च कुण्डीय गायत्री महायज्ञ पहिलोपटक भएको गायत्री साधक लक्ष्मीनारायण शर्माले जानकारी दिए ।
जिल्ला समन्वय समिति दाङ्गका निवर्तमान प्रमुख गायत्री साधक जितेन्द्रमान नेपालीले मानवमा देवत्व धर्तीमा स्वर्गको अवतरण अभियानमा सहभागीता जनाएको बताए ।
गायत्री तिर्थ शान्तिकुञ्ज, सनातन वैदिक विधि अनुसार गायत्री परिवार दाङ्गका कोषाध्यक्ष श्रीराम दहित, समयदानी कार्यकर्ता गायत्री साधक सुरेश आचार्य, संस्कृति ज्ञान परिक्षा लमही संयोजक यमा बस्नेत, सदस्य देवा खड्काले सामुहिक रूपमा पञ्च कुण्डीय गायत्री महायज्ञ संचालन गरेका थिए।
