नेकपा एमालेको जिल्ला अधिवेशन मिति नजिकिदै गर्दा बाँकेमा अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ।
जिल्ला अध्यक्षका आकांक्षीहरु कोही नेताको घरमा भेटघाटमा ब्यस्त छन भने केही जिल्ला अधिवेशनका लागि छनौटहुने प्रतिनिधि आफ्नो पक्षका बढाउने अभियानमा ब्यस्त देखिन्छन् ।
यहि पुष २३ गते हुने जिल्ला अधिवेशनमा अहिलेका अध्यक्ष निरक गुरुङ,उपाध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्री र सचिवालय सदस्य युवा नेता डिल्ली बि.सी.ले आफुलाई अध्यक्षको दावेदार बताउँदै आउनुभएको छ। यसैगरी मधेशी समुदायबाट सचिवालय सदस्य मनोज बर्माले पहिलोपटक बाँकेमा एमाले अध्यक्षको दावी गर्नुभएको छ ।
गुरुङ एमाले बाँकेका वर्तमान अध्यक्ष हुन् । एमालेको सातौं अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएका गुरुङ तत्कालिन अध्यक्ष अशोक कोइराला नेकपा (एकिकृत समाजवादी) तिर गएपछि पार्टीले १० बुँदे सहमति कार्यान्वयन स्वरुप गुरुङलाई चार महिना अघि जिल्ला अध्यक्षको जिम्मेवारी दिएको थियो ।
पार्टी भित्रको विभिन्न उतार चढावका कारण अध्यक्षको कार्यकाल मुस्किलले चार महिना पनि भईनसकेकोले पूरा कार्यकालको लागि अध्यक्षमा आफुले दावी गरेको अध्यक्ष गुरुङको भनाई छ ।
अध्यक्ष पदका दावेदार कक्षपति एमाले बाँकेका वर्तमान उपाध्यक्ष हुन् । पार्टीको प्रचार विभाग प्रमुख भएर काम गरिसक्नु भएका कक्षपतिलाई पार्टीले गुरुङसँगै चार महिना अघि मात्र उपाध्यक्षको जिम्मेवारी दिएको हो । उहाँ खजुरा गाउँपालिकाका अध्यक्ष समेत हुनुहुन्छ ।
जिल्लाका सबै पदाधिकारी समाजवादीतिर लाग्दा सूर्य ढकालको नेतृत्वमा यसअघि पनि सात महिना उपाध्यक्षमा रहेर काम गर्नुभएका कक्षपतिले आफुलाई स्वभाविक रुपमा अध्यक्षको दावेदार भन्दै आउनु भएको छ।
‘पार्टी संकटमा पर्दा मैले उपाध्यक्षको जिम्मेवारी पाएर काम गरेको थिएँ, अव स्वभाविक रुपमा अध्यक्षको दावेदार म नै हो ।’–कक्षपतिले भन्नुभयो।
विद्यार्थी राजनीतिबाट बाँकेको एमाले राजनीतिमा सक्रिय रत्न खत्री एमालेको सातौं अधिवेशनबाट सचिवमा निर्वाचित हुनुभएको थियो । नेकपा विभाजन हुँदा माधव नेपाल समूहतिर लाग्नु भएका खत्री १० वुँदे सहमति कार्यान्वयन सँगैे एमाले बाँकेको सचिवमा पुनः फर्किनु भएको छ।
नेकपा एमाले बाँकेमा एक कार्यकाल उपसचिव, झण्डै दुई कार्यकाल सचिवको जिम्मेवारी निर्वाह गरिसक्नु भएका खत्रीले पनि अव आफु स्वभाविक रुपमा अध्यक्षको दावेदार भएको बताउनुहुन्छ ।
युवा नेता डिल्ली बि.सी एमाले बाँकेको जिल्ला सचिवालय सदस्य तथा पार्टीको केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारीमा पनि हुनुहुन्छ । पत्रकारितासँगै राजनीतिमा छिर्नुभएका बिसीले पार्टीमा अव नेतृत्व हाँक्न सक्ने युवा अनुहारको खाँचो रहेको बताउनुहुन्छ ।
बाँकेमा पुरानो ढर्राबाट अव एमाले चल्दैन । एक पटक पार्टी चलाएका व्यक्ति पटक पटक दोहोरिनु हुन्न, युवा पुस्तालाई नेतृत्व हाँक्ने जिम्मा दिईनु पर्दछ’, बि.सी. भन्नुहुन्छ,–आम नेता कार्यकर्ता र युवा पुस्ताको मन जित्नेगरी पार्टीलाई अगाडी बढाउन अध्यक्षमा मेरो दावेदारी रहेको छ ।’
त्यसैगरी एमाले बाँकेका सचिवालय सदस्य एवम् लोकतान्त्रिक मधेशी संगठनका केन्द्रीय सदस्य मनोज बर्माले समेत अध्यक्षमा दावी गर्नुभएको छ। बर्माले अव पार्टी युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने बताउदै आउनु भएको छ।
‘मधेशी समुदायको वाहुल्यता रहेको बाँकेमा प्रतिनिधित्वका हिसावले पनि मैले नेतृत्वमा दावी गरेको छु’–उहाँले भन्नुभयो ।
दशौ राष्ट्रिय महाधिवेशनमा अध्यक्षले बाचन गरेको लिष्टबाट केन्द्रीय पदाधिकारी र सदस्यहरु छनौट भएपछि आफ्नो पक्षमा लविङ गर्न अध्यक्षका आकांक्षीहरु प्रतिनिधि छनौटका लागि भन्दा पनि नेताहरुको घर दैलोमा सक्रिय रहन थालेका छन्।
आकांक्षीहरु पार्टी सचिव तथा लुम्विनी प्रदेश ईन्चार्ज छविलाल बिश्वकर्मा, महासचिव शंकर पोखरेल र उपाध्यक्ष बिष्णु पौडेलसँगको भेटघाट र सम्पर्कलाई बढाएका छन्।
यहि पुष २३ गते हुने जिल्ला अधिवेशनका लागि एमाले बाँकेले शनिवार सवै पालिकामा एकै दिन प्रतिनिधि छनौट गरेको छ।