Lumbini Live

Follow Us:

स्वरोजगार बन्दै बाँकेका दलित महिला

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी पदमीकला कामीले पशुपंक्षी फार्म दर्ता गरेर व्यवसायीक रुपमा कृषि पेशामा होमिनु भएको छ ।


अहिले उहाँको फार्ममा ४२ वटा बाख्रा, ६ हजार कुखुरा र हाँस छन् । बाख्रा, कुखुरा, हाँस पालन गरेरै जिविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । लोकल र कडकनाथ जातको कुखुरा खरिद गर्न व्यापारीहरु घरमै पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

गाभर दलित महिला समूहमा आवद्ध उहाँले आफुसहित घरका चारजनालाई कामले भ्याई नभ्याई हुने गरेको बताउनुभयो । “बाख्रा चराउन, घाँस काट्न, कुखुरालाई दाना पानी खुवाउने कामले फुर्सदनै हुँदैन । हामीले घरमै स्थानीय चारो बनाएर कुखुरा पालन गर्दै आएका छौँ”,पदमीकलाले भन्नुभयो ।

खजुरा गाउँपालिका वडा नं.६ सिमलघारी निवासी सुनिता बिकले दुई वर्ष भयो नास्ता पसल सञ्चालन गरेको । सिमलघारी चोकमै रहेको पसलबाट अहिले दैनिक दुई हजार देखि २५ सय सम्मको बिक्री हुने गरेको उहाँको भनाई छ ।


सृजनशिल दलित महिला समूहकी सचिव समेत रहनुभएकी सुनिताका श्रीमान खाडी मुलुक कतार पुग्नुभएको छ । “समूहमा लागेर नास्ता पसल सञ्चालन गर्ने सोंच आएको हो, अहिले राम्रो भएको छ । घरखर्च र बाबुलाई स्कूल पढाउन नास्ता पसलबाटै पुगेको छ, श्रीमानले कमाएको पैसा चोखै बचाएर राखेकी छु”,उहाँले भन्नुभयो ।
पद्मीकला र सुनिता जस्तै बाँकेको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही दलित महिलाहरु विभिन्न व्यवसाय संचालन गरी स्वरोजगार बन्न थालेका छन ।


थोरै पैसाको लागि पनि विगतमा श्रीमानको भर पर्दै आएका दलित महिला अहिले कुखुरा पालन, तरकारी खेती, सौन्दर्य कला, होटल व्यवसाय लगायतका विभिन्न व्यवसाय सञ्चालन गरी घरको आर्थिक व्यवहार सञ्चालन गरेका छन् ।


दलित महिला संघ (फेडो) ले सञ्चालन गरेको दलित तथा सिमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रम अन्तर्गत गाउँ गाउँमा गठन भएका समूहमा आवद्ध भएर दलित महिला सामाजिक तथा आर्थिक रुपमा सशक्तिकरणको बाटोमा लम्किएका छन् ।


विगतमा रोजगारीका अवसर नभएको भन्दै भारत जाने या त खाली समय घरमा बसेर विताउने विपन्न वर्गका दलित महिलाहरु समेत पछिल्लो समय गाँउ गाँउमा महिला समुह निर्माण गरी स्वरोजगारमुलक व्यवसायमा संलग्न भएको खजुरा गाउँपालिका ६ स्थित दलित कृषक समूह की अध्यक्ष देवी बिकले बताउनुभयो ।


“दलित महिलाहरुलाई आम्दानीको स्रोतको सिर्जना गरि विभिन्न पेशा व्यवसायमा संलग्न गराउन समुहबाट ऋण लगानी समेत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो,“समुहवाट ऋण लिएर व्यवसाय गरेपछि धेरैजनालाई जीविकोपार्जनमा सहज भएको छ ।”


समुह गठन भएपछि विभिन्न हिंसामा परेका विपन्न दलित महिलाहरु सस्तो व्याजदरमा ऋण लिई विभिन्न व्यवसायमा संलग्न हुनेक्रम बढेको छ । व्यवसाय संचालन गरेपछि जीविकोपार्जनमा सहज भएको बैजनाथ गाउँपालिका ८ राइटरपुर निवासी पम्फादेवी सुनारले बताउनुभयो । तरकारी खेती, कुखुरा पालन र बंगुर पालन गर्दै आउनुभएकी उहाँले समुहवाट ऋण लिएर उत्पादन गरेको बस्तु विक्रीबाट मसिक रु. ५० हजार सम्म आम्दानी गर्दै आएको दावी गर्नुभयो ।
उहाँले उद्यमशीलता सम्बन्धि तालिम तथा सहुलियत व्याजदरमा ऋण पाए गाउँका थुप्रै महिलाहरु व्यवसायमा जोडिने र घरेलु हिंसासमेत कम हुने बताउनुभयो ।

समूहमा आवद्ध भएर किराना तथा फलफूल पसल सञ्चालन गर्दै आउनुभएकी बैजनाथ गाउँपालिका वडा नं. ३ निवासी जुना बि.क.ले आर्थिक आम्दानीमा सुधार भएसँगै छोरा छोरीलाई राम्रो शिक्षा दिन सकेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका यस्ता महिलाहरुका लागि स्थानीय सरकारले पनि विभिन्न किसिमका तालिम तथा सहयोग गर्न सके आर्थिक अभावले घरमा हुने हिंसा न्युनिकरण गर्नमा सहयोग पुग्ने उहाँको भनाई छ ।

दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तिकरण गराउँदै वडा तथा गाउँपालिका स्तरका संरचनामा सहभागि बनाउन दलित महिला संघ (फेडो) ले लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक दिलिशा गौतमले जानकारी दिनुभयो ।


दलित महिला संघले हाल बाँकेको बैजनाथ, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालन गरेको दलित तथा सिमान्तकृत समुदाय र महिलाको स्रोत र सेवामा पहुँच अभिवृदि कार्यक्रम अन्तर्गत प्रत्येक टोलमा २८ जना सदस्य रहेको समूह गठन गरी महिलाको आवश्यकता र रुची तथा सीप अनुसार सहयोग गर्दै आएको गौतमले बताउनुभयो ।
दलित महिलालाई आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउन आफूहरुले लक्षित वर्गका कार्यक्रम विनियोजन गरेर लागि परेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बि.क.ले बताउनुभयो । उहाँलै स्वरोजगार मूलक व्यवसाय सञ्चालन गर्न चाहने र गरिरहेका दलित महिलालाई प्रोत्साहन स्वरुप गाउँपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्