नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका वडा नंं २० राँझास्थित अग्रगामी महिला बचत तथा ऋण सहकारी संस्था लि.को नवौ वार्षिक साधारणसभा शनिवार भव्य समारोहका बीच सम्पन्न भएको छ । समारोहमा अग्रगामीले कुशल बचत कर्ता एवम् कुशल ऋणीलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेश एवम् जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले महिलाले सञ्चालन गरेको अग्रगामी महिला बचत तथा ऋण सहकारीले सहकारी क्षेत्रमा नामजस्तै अग्रगामी फड्को मार्दै गएको बताउनुभयो ।

उहाँले छोटो समयमै संस्थालाई स्थापित गर्न सफल भएकोमा संस्थाका पदाधिकारी, सञ्चालक तथा कर्मचारीको प्रशंसा समेत गर्नुभयो। अग्रगामी सहकारीलाई आवश्यक संस्थागत सबै प्रकारका सहयोगका लागि जिल्ला तथा प्रदेश सहकारी संघ सदैव तत्पर रहेको बताउँदै उहाँले अग्रगामीको अझै सफलताको कामना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष उषा भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश ज्ञवाली, कारकाँदो खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर थापा, संस्थाका कानूनी सल्लाहकार सुनिता ज्ञवाली, मखमली महिला बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक लक्ष्मी बि.क.लगायतले संस्थाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

साधारणसभाको अवसरमा शनिवारनै संस्थाको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ ।
रु. २६ लाखको लगानीमा निर्मित २ तले भवनको कार्यक्रमका प्रमुख अतिथि सुवेदी र संस्थाकी अध्यक्ष उषा थापाले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ।

२०६९ चैत ५ गते स्थापना भएको सहकारीका हाल एक हजार शेयर सदस्य रहेका छन् । संस्थाले राँझा एयरपोर्ट बजारमा कार्यालय स्थापना गरी कारोवार गर्दै आएको छ । वडा नंं २० मा मात्रै कारोवार गर्दै आएकोमा अव वडा नं. १८ र १९ लाई पनि कार्यक्षेत्र बनाएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, साधारणसभामा आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सहकारीले रु.३ करोड कारोवार गरी रु. ३ लाख बढि खुद मुनाफा गर्न सफल भएको छ । हाल संस्थाको चुक्ता शेयर पूँजि ६८ लाख ५० हजार, निक्षेप पूँजि २ करोड ९८ लाख ५२ हजार ८ सय ७८, जगेडा कोष २६ लाख ५० हजार ३६ रहेको छ ।

यसैगरी कर्जा जोखिम कोष ५ लाख १ हजार, कर्जा लगानी तीन करोड २० लाख ७ हजार ८ सय ९५, स्थिर सम्पति ३२ लाख ९१ हजार ८ सय ७०, बैंक मौज्दात ६८ लाख ७७ हजार ७ सय ६४ रहेको छ भने विभिन्न संस्थामा संस्थागत लगानी ४ लाख, ५४ हजार १ सय ६१ रहेको छ ।


