
नेपालगन्ज। आईएनएफ नेपालले बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालन गर्दै आएको दुईवटा परियोजनाको मंगलवार सामाजिक परीक्षण गरिएको छ ।
गाउँपालिकाभरी सञ्चालन भएको राप्तीसोनारी रिकभरी परियोजना र गाउँपालिकाको ५, ६ र ७ नं. वडामा सञ्चालन भएको मानव बेचविखन विरुद्धको परियोजना सकिएसँगै बुधवार सामाजिक परीक्षण गरिएको हो ।
दुईवर्ष अघि शुरु भएको राप्तीसोनारी रिकभरी परियोजना अन्तर्गत गाउँपालिकामा प्राकृतिक विपद्मा परेका र पर्न सक्ने सर्वसाधारणलाई लक्षित गरेर गतिविधि सञ्चालन भएका थिए ।

उक्त परियोजनाबाट डुवानमा पर्नसक्ने स्थानमा अग्लो स्थानमा खानेपानी ह्याण्डपम्प गाड्ने, कोभिड प्रभावित तथा पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने र प्राकृतिक विपद्बाट हुनसक्ने क्षति न्यूनिकरण गर्न सचेतना जगाउने लगायतका गतिविधि गरिएको कार्यक्रम संयोजक ज्योती क्षेत्रीले जानकारी दिनुभयो । सामाजिक परीक्षण समारोहमा बोल्दै उहाँले गाउँपालिकासँगको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकाको ५, ६ र ७ नं. वडामा सञ्चालन भएको मानव बेचविखन विरुद्धको परियोजना अन्तर्गत प्रभावित र पीडित समुदायमा समूह गठन तथा परिचालन गरिएको थियो । ४० समूहमा ९ सय २८ जनालाई आवद्ध बनाएर सीपमूलक तालिम र सचेतना अभियान सञ्चालन गरिएको परियोजना सुपरभाइजर राधिका गिरीले बताउनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले आईएनएफले सञ्चालन गरेको दुईवटै परियोजनाबाट गाउँपालिका प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउँदै आगामी दिनमा अझै प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले कार्यक्रम सञ्चालनको लागि गाउँपालिकाले गर्नुपर्ने आवश्यक सहयोग र समन्वयको लागि प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष चन्द्रबहादुर वलीले सबै वडामा कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
वडा नं. ६ फत्तेपुर निवासी मनबहादुर घर्तीले मानव वेचविखनविरुद्धको कार्यक्रमले गाउँमा सचेतना जगाउने काम गरेकोले आगामी दिनमा समेत कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
आईएनएफका प्रशासन अधिकृत नरेन्द्र साउँदले कार्यक्रममा व्यक्त सुझावलाई बिचार गरी आगामी दिनमा नयाँ परियोजना सञ्चालन हुने बताउनुभयो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, गाउँपालिकावासी र सरोकारवाला निकायको समन्वय र सहयोगमा परियोजनाले लक्ष्य हासिल गरेको उहाँको भनाई थियो ।
