नेपालगन्ज।नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य अक्रम अन्सारी सहित दुई सय बढि कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले जिल्ला संगठन कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पार्टी प्रवेश गराउनु भयो ।

करिव डेढदशकदेखि नेकपा माओवादी केन्द्रमा रहनुभएका युवा नेता अन्सारी नेपालगन्जको जयसपुरक्षेत्रमा लोकप्रिय मानिनुहुन्छ । माओवादी केन्द्र संस्थागत नभई व्यक्तिगत र पारिवारीक नातागोताका भरमा सञ्चालन हुँदै आएको उहाँले आरोप लगाउनुभयो । माओवादीमा ठूला नेताको परिवार र नातागोताले मात्रै अवसर पाएको भन्दै पार्टी कार्यकर्तालाई झुटा आश्वासनमात्रै दिने गरेका कारण वितृष्णा जागेको उहाँको भनाई छ ।
नेकपा एमालेको सिद्धान्त, बिचार पढेर पार्टी प्रवेश गरेको बताउँदै अन्सारीले भन्नुभयो,“अव जीवनभर एमालेमै रहेर राजनीति गर्ने छु, बाँकेलाई माओवादी मुक्त बनाउछु ।”

सो अवसरमा बोल्दै एमालेका स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादीले जनतालाई भ्रममा पारेर राजनीति गरेकोले अहिले कार्यकर्ताले उक्त पार्टी छाड्दै गएको बताउनुभयो ।
“माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सबै जातजाती व्यक्ति व्यक्तिलाई राज्य बाँड्दै हिँड्नुभयो,अहिले त्यसैले अफ्ठेरोमा पर्नुभएको छ”, उहाँले भन्नुभयो,“आफ्नो पार्टी सुधार्न भन्दा पनि अरुको पार्टी बिगार्न र जनतालाई भ्रम छर्ने प्रचण्डको तरिका सबैले बुझिसकेका छन् ।”
राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षा, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा नेकपा एमालेले मात्रै गर्नसक्ने भएकोले सदैव एमालेप्रति जनताको साथ र समर्थन रहँदै आएको बताउनुभयो । एमाले सरकारमा छँदा राम्रा काम गरेकै कारण अहिले सत्ताबाट बाहिरीए पनि एमालेमा प्रवेश गर्ने जनलहर बढ्दै गएको उहाँले दावी गर्नुभयो ।
जिल्ला अध्यक्ष सूर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रमा एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य मोहम्मद हारुन, संविधानसभा सदस्य देवराज भार, पार्टी प्रदेश सदस्य शान्ति ढकाल, जिल्ला उपाध्यक्ष किस्मत कक्षपति, नेता अशोक कर्माचार्य लगायतले पार्टीमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन भीम वलीले गर्नुभएको थियो ।