
नेपालगन्ज । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीमा लामो भविष्य भएका नेताहरुलाई मूलधारमा फर्किन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेको बैठकलाई सम्वोधन गर्दै उहाँले माधव नेपाल समूह पार्टी एकताको पक्षमा नरहेकोले कुनै अलमलमा नपरि मूलघरमा फर्किन आग्रह गर्नुभएको हो ।

राष्ट्रिय स्वाभिमान, जनताको विकास प्रतिको आकांक्षा, समृद्धि र कम्युनिष्ट आन्दोलनको रक्षा नेकपा एमालेले मात्रै गर्नसक्ने दावी गर्दै नेता पोखरेलले पुनः जनताको जनादेशबाट सरकार निर्माण गर्ने गरी जिल्ला जिल्लामा पार्टीका नेता कार्यकर्ताले जिम्मेवारी र भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
“पार्टीमा लामो भविष्य भएका नेता कार्यकर्ता कम भविष्य भएका नेताहरुको पछाडि नलाग्नुहोस् कारणवश मूलधारमा नआउनुभएका बाँकेका एमाले नेताहरु पनि फर्किनुहोस् मूलघरमा तपाईको उचित सम्मान हुनेछ”, नेता पोखरेलले भन्नुभयो,“हिजो को कता लागेको थियो भनेर पार्टीभित्र कुनै किसिमको विभेद हुनेछैन आउनुहोस् एकतावद्ध भएर अघि बढौँ ।”
नेकपा एमाले बाँकेको १७ औं पूर्ण बैठक आज नेपालगन्ज १४ भवानियापुरमा सम्पन्न भएको छ । सूर्य ढकाल नेतृत्वको जिल्ला कमिटीको यो तेश्रो वैठक हो। यसअघि पहिलो वैठक नरैनापुर र दोश्रो बैठक जानकी गाउँपालिकाको जोगागाउँमा सम्पन्न भएको थियो।

आजको बैठकमा एजेन्डा प्रस्तुत गर्दै पार्टी जिल्ला अध्यक्ष ढकालले पार्टीको संगठन सुदृढिकरणमा अघि बढेको वताउन भयो। उहाँले अघिल्लो वैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्दै अघि बढेको जानकारी दिनुभयो। वैठकमा समूह विभाजन गरी एजेण्डामा छलफल भएको थियो ।

वैठकमा विशेष अतिथि एमाले केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिव एवम बाँके इन्चार्ज खेममान खड्का, केन्द्रीय सदस्य मोहम्मद हारुन,र पार्टी प्रदेश कमिटी सदस्यहरू अतिथि रहनु भएको थियो । पार्टी उपाध्यक्ष किस्मत कुमार कक्षपतिले स्वागत गर्नुभएको वैठकको सञ्चालन भीम वलीले गर्नुभएको थियो ।