नेपालगन्ज– खजुरा गाउँपालिका विपत व्यवस्थापन समितिले बाढी र डुबान लक्षित पूर्व तयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी, जेठीनाला, र मानखोलाबाट विभिन्न वडामा हुन सक्ने क्षति र प्रभाव बारे अनुमान गर्दै पूर्व तयारी थालेको हो।
सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्दार, राहत, खाना, बस्न र औसधि उपचार लगायतका व्यवस्थापन गर्ने तयारी गरिएको विपत व्यवस्थापन समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

उहाँका अनुसार मंगलबार समितिको वैठक बसेर खजुरा गाउँपालिकाका राजनीतिक दल, नागरिक अगुवा, गैरसरकारी संस्थाका प्रतिनिधि लगायत सम्बद्ध सदस्यहरुबाट सुझाव लिएको छ । वैठकमा प्राप्त सुझावको आधारमा गाउँपालिका व्यवस्थापनमा लाग्ने छ ।
वैठकमा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, कार्यपालिका सदस्यहरु, योगमाया खनाल, फत्तेकुमारी जैसी, सीता गुरुङ, झुमा योगी, निशार अलि दर्जी, भागीरथ सुनार, खजुरा गाउँपालिका योजना अधिकृत दिल बहादुर पौडेल, खजुरा रेडक्रस अध्यक्ष जीवनाथ सापकोटा, इलाका प्रहरी धनौलीका प्रहरी नायब निरीक्षक पुस्करराज जोशी, गैसस प्रतिनिधि शोभना मिश्र, नेकपा एमालेका झगबहादुर पौडेल, नेपाली काँग्रेसका भीमबहादुर विश्वकर्मा, माओवादी केन्द्रका राजकुमार बिक, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले विपतमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

वैठकमा प्राप्त सुझावको आधारमा व्यवस्थापनमा लाग्ने भन्दै खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले वडास्तरका विपत व्यवस्थापन समितिका साथै सबै सरोकारवाला सक्रियताका साथ लाग्नु पर्नेहरूमा जोड दिनुभयो ।
खजुरा गाउँपालिका अन्तर्गत मानखोलामा पानीको सतह निरन्तर बढिरहेकोले खोला छेउको वस्तीका वासिन्दालाई सावधानी अपनाउन गाउँपालिका अध्यक्ष कक्षपतिले अनुरोध गर्नु भएको छ ।