नेपालगन्ज । कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज रातीदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन आदेश जारी गरेको छ ।
जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले गरेको सिफारिशको आधारमा आज राती १२ बजेदेखि लागु हुने गरी बैशाख १५ गते राती १२ बजेसम्मको लागि बन्दाबन्दी जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्जमा कोरोना सङ्क्रमण तीब्रगतिमा फैलिएकाले त्यसको रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । बन्दाबन्दीको समयमा दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यासका पसल विहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न दिईने छ ।
यी सेवाबाहेक अरु बन्द
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्जजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालन हुने छन् ।
यी साधन चल्न पाउने छन्
एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन चल्न पाउने छन् ।

भेरीमा उपचाररत संक्रमितको मृत्यु
भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज १२ का ७० वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो।
ती व्यक्तीलाई चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।