Lumbini Live

Follow Us:

सामाजिक भेदभाव र लाञ्छनाले कुष्ठरोग रोकथाममा चुनौति

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on email
Email
Share on print
Print
-Advertisement-

नेपालगन्ज–सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँके जिल्लामा कुष्ठरोगको रोकथाम प्रभावकारी हुनसकेको छैन ।
रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफ लगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि विरामी प्रत्येक वर्ष थपिदै आएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।

“कुष्ठरोग प्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन । विरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूका त्यू छ”,सोमवार आइएनएफ बाँकेले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तक्र्रियामा नेपालीले भन्नुभयो,“औषधि सेवन गरे निको भईहाल्ने भएपनि भेदभाव र लाञ्छनाले विरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।”
उहाँका अनुसार,बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेको बिरामीहरुलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ ।

बाँकेमा गत आर्थिक वर्षमा एक सय ३३ जना कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । गत आर्थिक वर्षमा पहिचान भएका एक सय ३३ कुष्ठरोगी मध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला र २८ पुरुष सामान्य अवस्थामा रहेका थिए ।
जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महिना नियमित रुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महिना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगी मध्ये ९ महिला र १९ पुरुष जटिल अवस्थाका र १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् ।

आइएनएफ बाँकेले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तक्र्रियामा स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कुष्ठरोग स्रोत व्यक्ति मानव नेपाली

बाँकेको जानकी गाउँपालिकामा यो वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ जना कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १० जना, नरैनापुर गाउँपालिकामा ७ जना, खजुरा गाउँपालिकामा ६ जना, कोहलपुर नगरपालिकामा ५ जना, बैजनाथ गाउँपालिकामा ५ जना , डुडुवा गाउँपालिकामा ५ जना र राप्तीसोनारी गाउँपालिकामा १ जना कुष्ठरोगी फेला परेका हुन् ।स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारको लागि आएका विरामीबाट कुष्ठरोगीको पहिचान गरिदै आएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले बताउनुभयो ।
उहाँले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीहरुलाई पु¥याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तर रुपमा सञ्चालन भईरहेको बताउनुभयो । बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका विरामीहरु बढ्दै गएको शाहको भनाई छ ।
प्रमुख शाहका अनुसार, सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।

आइएनएफ बाँकेले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तक्र्रियामा आईएनएफका प्रशासन अधिकृत नरेन्द्र साउद


कुष्ठरोगको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइएनएफ बाँकेका परियोजना प्रबन्धक श्याम बि.कले भेदभावका कुरा अहिले पनि समाजमा विद्यमान रहेका कारण कुष्ठरोगीले रोग लुकाउने र समयमै उपचार नपाउने अवस्था रहेको बताउनुभयो ।
“कयौँ व्यक्तिले औषधि सेवन गरेर रोग निको भएपनि घर परिवार तथा समाजबाट लाञ्छना र भेदभाव हुने डरले परिवारसँग जानकारी नगराउने अवस्था पनि रहेको छ”, उहाँले भन्नुभयो,“पहिलेको भन्दा परिवर्तन भएको छ, अझ धेरै परिवर्तन हुन बाँकी रहेको छ ।”
उहाँका अनुसार, कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीहरुको उपचार सरकारले निःशुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दागहरु देखापर्नु, हातखुट्टामा नदुख्ने घाउहरु देखापर्ने हुन्छ ।
जिल्लाका कुष्ठरोगीलाई हरेक स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामै औषधि उपचार हुन्छ । अंगभंग भएका जटिल खालका रोगीको भने आइएनएफ नेपालद्वारा सञ्चालित साइनिङ अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । आइएनएफका परियोजना अधिकृत पदमबहादुर बुढाले गत आर्थिक वर्षमा बाँकेका ५९ भारत र झन्डै एक दर्जन जिल्लाका एक सय ४५ जना नयाँ कुष्ठरोगीको उपचार गरेको बताउनुभयो।
आईएनएफ बाँकेले बाँकेका पत्रकारसँग सोमवार कुष्ठरोगसम्बन्धि अन्तक्र्रिया गरी बाँके लगायत यो क्षेत्रमा आईएनएफ र साइनिङ अस्पतालले गर्दै आएको काम तथा सेवाका वारेमा जानकारी गराएको छ । कार्यक्रमको सञ्चालन आईएनएफका प्रशासन अधिकृत नरेन्द्र साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्