‘प्रदेशीलाई कहिले पनि दसैं–तिहार आएन,
यसपाली पनि लकडाउनले घर फर्कनै पाएन,
मलाई सम्झि बस्दै होलिन् मेरी पियार, प्रदेशैमा बित्ने भयो दशै तिहार ।’

यसपटक कोरोना भाइरस महामारीले सारा विश्व आक्रान्त छ । यसै मेसोमा फेरी नेपालीका घर–आँगनमा दसैं–तिहार जस्ता महत्वपूर्ण चाडपर्ब आएका छन्। तर, यति महत्वपूर्ण चाडमा पनि कोरोना कहरका कारणले घर आउन नपाउँदाको पीडा माथि उल्लेखित गीतमा झल्किन्छ ।
प्रदेशमा बस्ने नेपालीको जीवन कथामा आधारित दसैं–तिहार गीत ‘प्रदेशीको दसैं तिहार’ को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ, युट्यूबमार्फत । गायिका पारु केसी र रत्न मगरको लय शब्द र संगीत तथा गायिका केसी, गायक रत्न मगर र रमेश मगरको स्वर रहेको यो गीतमा काम विशेषले परदेशिन बाध्य नेपाली दाजुभाईको कथा व्यथालाई समेटिएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनले यो वर्ष पनि प्रदेशबाट घर फर्कन नपाएको भाव गीतमा झल्किन्छ। चाडपर्वका बेला प्रदेशमा रहँदा आउने गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढङ्गबाट भिडियोमा उतार्ने प्रयास गरिएको छ। हुम गैरेको निर्देशन रहेको गीतको भिडियोमा निक शर्मा, अस्मिता राना र रामु विरही लगायतका कलाकारले अभिनय गरेका छन्।
‘घर छाडेर जानु भएको पाँच वर्ष पाँच दिन, तिमी भए पुग्छ मलाई अरु केही चाहिदैन, प्रदेशैमा बिताउनु भयो दसै–तिहार।’ घर छोडेर विदेश गएको श्रीमान लामो समयसम्म पनि नफर्किदा चाडपर्व रमाइलो हुन नसकेको कुरा पनि गीतमार्फत व्यक्त गरिएको छ।
‘प्रदेशमा रहने नेपालीले दसैं–तिहारमा घरपरिवारलाई कसरी सम्झिएर दिन बिताउछन् भन्ने भावलाई गीतमार्फत प्रस्तुत गर्ने जमर्को गरेका छौँ,’ गायिका केसीले भनिन,‘यो वर्ष कोरोना भाइरस महामारीले प्रदेशमा रहेका नेपालीलाई पीडा थपेको कुरालाई पनि हामीले गीतमा समेटेका छौँ, आशा छ गीतले दर्शकको मन छुनेछ ।’
गायकद्वय रत्न मगर र रमेश मगर रोजगारीको शिलशिलामा लामो समयदेखि विदेशमै रहँदै आएकोले पनि प्रदेशमा बस्ने नेपालीको यथार्थ जीवन कथालाई गीतमा समेटिएको गायिका केसीको भनाई छ ।