–हाम्रो समाचार–
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० मनिकापुरस्थित खगेन्द्र पोल्ट्रीफर्ममा रहेका एक हजार बोइलर कुखुरा दाना नपाएर मरेका छन् ।
कोरोना भाइरस महामारी रोकथामका लागि जारी लकडाउनले दानाको व्यवस्थापन हुन नसक्दा करिव एक हजार कुखुरा मरेको फर्मका सञ्चालक खगेन्द्र सलामी मगरले जानकारी दिनुभयो ।
“लकडाउनमा हुर्केका कुखुरा बिक्री गर्न पनि पाईएन, बजार बन्द भएर दाना खान नपाउँदा दिनदिनै कुखुरा मर्न थालेका छन्”, उहाँले भन्नुभयो,“लकडाउनभरी एक हजार कुखुरा मरेर सकिए अव सयमात्रै बँचेहोलान् ।”
एक केजीदेखि दुई केजी सम्म तौल भएका कुखुरा दाना खान नपाएर मर्दा करिव ५ लाख घाटा व्यहोर्न परेको उहाँको भनाई छ । विगत तीनवर्ष अघि बैंकबाट ५ लाख ऋण लिएर कुखुरा पालन र फ्रेस हाउस सञ्चालन गरेका मगरलाई यो वर्ष लकडाउनले ठूलो क्षति पु¥याएको स्थानीय छिमेकी अगुवा पूर्वलाल जैसीले बताउनुभयो ।

कोरोना भाइरसको हल्लाले मासु खान नहुने भनेपछि बिक्री गर्न नपाएका कारण ठूलो नोक्सानी व्यहोर्नुपरेको जैसीको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीले राहतको लागि वडा कार्यालयलै मुचुल्का उठाएर उपमहानगरपालिकामा सिफारिश गरेको जानकारी दिनुभयो ।